• १२ असोज २०८१, शनिबार

वडाध्यक्ष नै वैदेशिक रोजगारीमा

blog

वैदेशिक रोजगारीमा जानुभएका राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ ।

लीलाधर वली 

घोराही, साउन २५ गते । दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन हुनुभएको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश जानुभएको हो । निर्वाचनअघि गुरुङ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्थ्यो । कार्यालय सहयोगी भएर काम गर्दा मतदाताको मन जितेर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

नेकपा (एमाले) बाट उम्मेदवार बनेका गुरुङ १३४ मतान्तरले नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई हराउँदै वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित गुरुङले निकै चर्चा पाउनुभएको थियो ।

अहिले पनि उहाँको काम गराइप्रति नागरिकको विश्वास कायमै छ । उहाँले एकाएक वैदेशिक रोजगारीको यात्रा थालेपछि भने वडावासी आश्चर्यमा परेका छन् । वडा सदस्यहरू पनि अल्मलिएका छन् । “वडामा कुरा भएको थिएन, एक्कासि विदेश जानुभयो रे भन्ने सुनियो,” वडा सदस्य दयाराम चौधरीले भन्नुभयो । वडाध्यक्ष गुरुङ बेलायत पुग्नुभएको बताइएको छ ।

वडा सदस्य चौधरीका अनुसार वडा सचिवले गर्ने कामदेखि सेवाग्राहीको निवेदन लेखिदिनेसम्मका सबै काम उहाँ आफैँ गर्नुहुन्थ्यो । आर्थिक सङ्कटले घेरेपछि वैदेशिक रोजगारीलाई रोज्नु परेको उहाँकी श्रीमती सङ्गीता गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको सेवामा रमाउने मान्छे हो तर रहरले मात्र हुने रहेनछ । आर्थिक समस्याले च्यापेपछि बाध्यताले विदेश जानुभएको हो ।”

आमा लामो समयदेखि बिरामी हुनुभयो । उहाँको उपचारमा धेरै रकम खर्च भयो । ऋण पनि लाग्यो, यहाँ बसेर तिर्न सक्ने अवस्था नभएपछि विदेश जानुभएको सङ्गीताले बताउनुभयो । 

वडाध्यक्ष गुरुङका बुवा नीमबहादुर गुरुङ बेलायतको सेवानिवृत्त सेना हुनुहुन्थ्यो । बुवाको मृत्युपछि बेलायत सरकारले निवृत्त भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेका कारण उहाँ पनि विदेश जानुभएको हो । हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनले समाल्दै आउनुभएको छ । वडा सदस्य पुनलाई जिम्मेवारी दिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । वडाध्यक्षका रूपमा उहाँले मासिक ३० हजार रुपियाँ सेवा सुविधा पाउँदै आउनुभएको थियो ।