• १२ असोज २०८१, शनिबार

१३२ केभिए प्रसारण लाइन, छ हजार रुख काट्न स्वीकृति

blog

विद्युत् प्रसारण लाइन अन्तर्गत निकुञ्जभित्र पर्ने रुखमा छपान गरिँदै । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, साउन २५ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने रुख कटानको स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ हजारभन्दा बढी रुख कटानको स्वीकृति दिएको हो ।

यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार आठ सय रुखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत् विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । साउन १६ गते विभागले रुख कटानको अनुमतिपत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । अहिले रुख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रुख कटानको अनुमति दिएपछि मात्र कटान सुरु हुने छ । यो अनुमतिसँगै विद्युत् विस्तारको काम प्रभावकारी रूपमा अघि बढ्ने छ ।

बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार ९९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार ३२० रुख कटानका लागि विभागले स्वीकृति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रुखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो । अहिले दुई वटा राष्ट्रिय निकुञ्जमा रुख कटान अनुमतिको फाइल पेस गरिएको आयोजनाले जनाएको छ । 

विद्युत् विस्तारमा मुख्यमन्त्रीको चासो

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि सरकारको नेतृत्व सम्हालेलगत्तै १३२ केभिए प्रसारण लाइन विस्तार योजनामा चासो दिनुभएको छ । प्रसारण लाइन विस्तारलाई अघि बढाउन विभिन्न क्षेत्रसँग छलफलसमेत गर्नुभएको थियो । केही दिनअघि मात्र निकुञ्जभित्रको रुख कटान समस्याबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गानासहितको टोलीसँग मुख्यमन्त्री कँडेलले छलफल गर्नुभएको थियो । उहाँले रुख कटानको प्रक्रियालाई सहज बनाइदिन आग्रह गर्नुभयो । विभागका निर्देशक ढुङ्गानाले रुख कटानका लागि फाइल स्वीकृत गरिसकेको जानकारी गराउनुभएको थियो । साथै उहाँले रुख कटानको अनुमतिका लागि तत्कालै सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

रुख कटानको काम स्वीकृतिपछि निकुञ्जभित्रको समस्या समाधान भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । अन्य क्षेत्रमा देखिएको विवादबारे छलफल गरिने उहाँको भनाइ छ । बाँकेको गाभरमा रहेको जग्गा विवादलगायतका समस्यामा केन्द्रित भई छिट्टै नै कर्णालीलाई १३२ केभिए प्रसारण लाइनमा जोड्न पहल गरिने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

जग्गा विवाद कायमै

आयोजना स्थलमा जग्गा विवाद भने कायमै रहेको छ । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा बाँकेको वैजनाथस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका बासिन्दाले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिका–१, गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । त्यहाँका स्थानीयले आयोजनाविरुद्ध उच्च अदालत बाँकेमा मुद्दा दर्तासमेत गरेका छन् । उक्त स्थानमा कुनै पनि काम हुन सकिरहेको छैन ।

सत्तरी प्रतिशत भौतिक प्रगति

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । १२५ वटा फाउन्डेसन निर्माण गरिएको छ । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाइएको छ ।