• १२ असोज २०८१, शनिबार

मिथिलामा झुला चहलपहल

blog

झुला महोत्सवमा जानकी मन्दिर । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन २५ गते ।  मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ । 

साउन शुक्ल तृतीया तिथि बुधबार सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहने छ । यस महोत्सवमा भगवान् श्रीरामसीतासहितका देवीदेवतालाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा रहेको छ । झुलामा विभिन्न देवीदेवतालाई झुलाई आस्था र भक्तिभाव प्रकट गर्ने गरिन्छ । 

भुला लगे कदमके डाली, सिया झुले प्यारी ना ।

झुला झुल्वे सजनी बिहान होवै पवनी

झुलापर्वका बेला मधेशमा लोकभाका गायनको बेग्लै माहोल हुन्छ । मिथिला क्षेत्रका जानकी मन्दिर, राम 

मन्दिर, रत्नसागरमा झुला लोकभाका गुञ्जिने गर्छ । बर्खा ऋतुको कजरीलगायत लोकगीत दिनहुँ गुञ्जिने जनकपुरधामका मठमन्दिरमा लोकगीतसँगै भक्तजनको घुइँचो र नाचगान गर्ने कलाकार प्रशस्तै भेटिन्छन् । तथापि पछिल्लो समय मिथिलामा लोक संस्कृतिको रौनक कम हुँदै गएको बताइन्छ । 

झुला महोत्सवका कारण ऋतु वर्णन, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार पहिले रङ्गभूमि मैदानमा झुला हेर्न आउनेको घुइँचो लाग्ने गथ्र्यो तर त्यो रङ्गभूमि मैदान हेर्न लायकको छैन । 

सो मैदानलाई व्यवस्थित बनाउन सरकारले ध्यान दिएको छैन । मिथिलाको संस्कृतिलाई जोगाउन स्थानीय र प्रदेश सरकारले चासो दिएका छैनन् । जनकपुरधामका विभिन्न मठमन्दिरमा मनाइने पर्व जानकी मन्दिर, राममन्दिर र रत्नसागर मन्दिरमा मात्र सीमित भएका छन् । अन्य मन्दिरमा विधि मात्र गरिन्छ । त्यसकारण पनि झुला महोत्सवको रौनक पहिला जस्तो छैन ।

विशेष गरी साउन महिनामा मनाइने झुलापर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुला जस्ता लोकगीतले गुञ्जयमान हुने गर्दथ्यो । झुलागायनसँगै नाच्ने र रमाइलो गर्ने चलन थियो तर यतिबेला झुलापर्व सीमित मन्दिर र यसमा गाइने लोकगीत गायन पनि कम हुँदै गएकाले भक्तजनको सङ्ख्या पनि घट्दै गएको महन्थले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुलापर्वमा पहिला विवाह पञ्चमीको जसरी रौनक हुन्थ्यो । डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन आउने गर्थे तर अहिले सीमित मन्दिरमा रौनक देख्न पाइन्छ र भक्तजन सीमित भएका छन् ।”

जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुलनोत्सव सुरु गर्नुभएको बताइन्छ । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको भनाइ छ । ‘रसिक सम्प्रदायमा अराध्यदेवसँग आत्मीय भाववृद्धिका लागि कुनै न कुनै नाता जोड्ने चलन छ । त्यस अनुसार नै सन्त दासले सीतासँग पितापुत्रीको सम्बन्ध जोड्नुभएको आकलन गरिन्छ । जनकपुरधाम माता सीताको माइती पनि हो । जानकी मन्दिरका पूर्वमहन्थ दासकै सम्बन्धभावका अनुसार उहाँपछिका महन्थले सीता माताको पूजाअर्चना पुत्रीभावले गर्दै आउनुभएको छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ । 

साउन महिनामा कृषि कार्यको समाप्तिपछि फुर्सदमा रहेका सर्वसाधारणले नयाँ लुगा लगाउने र सिङ्गारपटार गर्ने तथा थरीथरीका भोजन गर्ने तथा त्यसै अनुसार भगवान्को वस्त्राभूषण गर्ने व्यवहार नै झुलनोत्सवलाई झुपडीदेखि महलसम्म पु¥याएको संस्कृतिविद्को भनाइ छ । नवविवाहिताले व्रत बसी मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै सुरु भएको झुला महोत्सवले तराईको जनजीवन उत्सवमय बनाएको छ ।

संस्कृतिविद् परमेशवर कापरीका अनुसार झुला पर्व मिथिलाको जनजीवनसँग सम्बन्धित लोक पर्व हो । यसले साउनको महिनाको शितल हावा सीमसीमे पानीलाई दर्शाउने गर्छ । यतिबेला गाउँघरको काम सकिएको हुन्छ । किसान रमाउने गर्छन् र झुला पर्वमा विभिन्न गीत गाएर नाच्ने गर्छन् । यो पर्व एउटा आनन्दको पर्व पनि हो । झुलामा गाइने गीतले आनन्दित बनाउने गर्छ । पहिला मिथिलाको प्रत्येक घरमा कुटीमा समेत झुला बनाएर राम र सीताका प्रतिमालाई झुलाएर रमाइलो गर्ने गरिन्थ्यो । आजकल त्यो आधुनिकताले भरिएको परिवेशमा पारम्परिक झुलाको महत्व कम हुँदै गएको संकृतिविद् कापरीको भनाइ छ ।