• १२ असोज २०८१, शनिबार

प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन

blog

काठमाडौँ, साउन २५ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । 

सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा भएको छुट्टाछुट्टै छलफलमा उहाँले राष्ट्रिय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिनुभएको हो । 

त्यस्तै राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई पनि अघि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।

छलफलमा अर्थमन्त्री पौडेलले प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोतसाधनको सही सदुपयोग हुने बताउनुभयो । 

बिहीबार अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गर्नुभएको थियो । 

त्यस्तै खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग उहाँको छलफल भएको थियो ।