• १२ असोज २०८१, शनिबार

हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताउनुभयो ।

उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियता पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकोप्टर दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकोप्टर दुर्घटना भएको थियो । सो दुर्घटनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताउनुभयो ।

हेलिकोप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गर्नुभयो । “अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो”, उहाँले भन्नुभयो, “अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ ।”

सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो । रासस

*सरकारका प्रवक्ताको भनाइ सम्बन्धी समाचारलाई राससले सच्याएर पुनः तयार गरेकाले सोही अनुसार अद्यावधिक गरिएको छ । – सम्पादक