लक्ष्मी चौधरी
जनकपुरधाम, साउन २४ गते । मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
विगतमा जकपुरधामललगायत मिथिला क्षेत्रका विभिन्न मठमन्दिरहरूमा देखिएको झुला महोत्सव घटेर जानकी मन्दिर, राम मन्दिर, रत्नसागरमा मात्र झुलाको लोकगीत गुञ्जिा थालेका छन् । बर्खा ऋतुको कजरीलगायतका लोकगीतहरू दिनहुँ गुन्जिने जनकपुरधामका मठमन्दिरहरूमा ती लोकगीतसँगै भक्तजनहरूको घुइँचो र नाचगान गर्ने कालाकारहरूको रौनक पनि कम भएको छ ।
हिन्दु संस्कृति परम्परा जोगाउन यस्ता लोक पर्व, संस्कृति, कला र गीतहरू गुन्जिन आवश्यक हुन्छ र तर यहाँ तीन तहको सरकार हुँदा पनि यस्ता संस्कृति जोगाउनमा कसैले चासो नर्दिका कारण मिथिलामा मनाउने लोक संस्कृतिको रौनक हराउँदै गएको हो । भुला महोत्सवका कारण ऋतु वर्णन, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार पहिले रंगभूमि मैदानमा मनाउने मनि पर्वत झुला हेर्न आउनेहरूको घुइँचो लाग्ने गर्थ्यो । तर, त्यो रंगभूमि मैदान हेर्न लायकको छैन, रंगभूमि मैदानलाई व्यवस्थित बनाउन कुनै सरकारले ध्यान दिएको छैन, मिथिलाको संकृतिलाई जोगाउन कुनै चासो दिएका छनैन्, जनकपुरधामका विभिन्न मठमन्दिरहरूमा मनाइने पर्व जानकी मन्दिर, राममन्दिर र रत्नसागर मन्दिरमा मात्र सीमित भएका छन्, अन्य मन्दिरहरूमा विधि मात्र गरिन्छ, त्यसकारण पनि झुला महोत्सवको रौनक पहिला जस्तो छैन ।
विशेषगरी साउन महिनामा मनाइने झुला पर्वका अवसरमा यहाँका मठमन्दिरहरूमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीतहरू गाउने र नाच्ने चलन थियो । तर यतिबेला झुला पर्व सीमित मन्दिर र यसमा गाइने लोकगीतहरू पनि सीमित भएका कारण भक्तजनहरूको सङ्ख्या पनि घट्दै गएको महन्थले भन्नुभयो । पारम्परिक तरिकाले मनाउने झुला महत्वको महत्वमा कमी आएपछि गाउँगाउँबाट हेर्न आउने भक्तजनहरूमा पनि कमी आएका कारण रौनकमा पनि कमी आएको जानकी मन्दिरका महन्थ दास वैष्णवको कथन छ ।
उहाँ थप्नुहुन्छ, “मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुला पर्वमा पहिला विवाह पञ्चमी जसरी रौनक हुन्थ्यो, डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतका समेत भक्तजनहरू यहाँ आउने गर्थे । तर, अहिले सीमित मन्दिरहरूमा रौनक देख्न पाइन्छ र भक्तजन पनि सीमित भएका छन् ।”
साउन शुक्ल तृतीया तिथि (बुधबार) बाट सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहनेछ । यस महोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देवताहरूलाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा छ । साउन शुक्ल तृतीया तिथिबाट आरम्भ हुने झुलामा विभिन्न देवीदेवताहरूलाई झुलामा झुलाई आस्था र भक्ति भाव प्रकट गर्ने गरिन्छ ।
संस्कृतिविद्हरूका अनुसार जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुलनोत्सव सुरु गर्नुभएको थियो । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको धार्मिक अध्येताहरूको भनाइ छ । ‘रसिक सम्प्रदायमा अराध्यदेवसँग आत्मीय भाववृद्धिका लागि कुनै न कुनै नाता जोड्ने चलन छ । त्यसअनुसार नै सन्त दासले सीतासँग पिता पुत्रीको सम्बन्ध जोड्नु भएको आकलन गरिन्छ । जनकपुरधाम माता सीताको माइत पनि हो । जानकी मन्दिरका पूर्व महन्थ दासकै सम्बन्ध भावका अनुसार उहाँपछिका महन्थहरूले सीता माताको पूजाअर्चना पुत्री भावले गर्दै आउनुभएको छ । ‘भगवान् र भक्तबिचको यो सम्बन्ध अनौठो छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ ।
साउन महिनामा कृषि कार्यको समाप्तिपछि फुर्सदमा रहेका सर्वसाधारणहरूले नयाँ लुगा लगाउने र सिंगारपटार गर्ने तथा थरीथरीका भोजन गर्ने तथा त्यसैअनुसार भगवानको वस्त्राभूषण गर्ने व्यवहार नै झुलनोत्सवलाई झुपडीदेखि महलसम्म पुर्याएको संस्कृतिविद्हरूको भनाइ छ ।
नवविवाहिताले व्रत बसी मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै सुरु भएको झुला महोत्सव पनि रक्षा बन्धनसम्म मनाइने छ ।