• १२ असोज २०८१, शनिबार

झुला पर्व सुरु

blog

झुला पर्व । फाइल तस्बिर

जलेश्वर, साउन २५ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ । आउँदो पूर्णिमाको दिनसम्म मनाइने झुला पर्वका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ । 

महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ । झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अवेरसम्म झुला झुलाउने गरिने लक्ष्मीनारायण मठ मटिहानीका महन्थ जगन्ननाथ दास वैष्ण्वले बताउनुभयो । 

भगवान रामसीता साउन महिनामा यसै गरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाको अवसरमा मटिहानीमा मेलाको आयोजना गरिएको छ । मेला हेर्न र भगवान् रामसीताको झुलनोत्सवमा सहभागी हुन प्रत्येक दिन साँझदेखि अबेर रातिसम्म नेपाल भारतका श्रद्धालुको घुइँचो लाग्छ । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ । 

मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने भजनकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । 

सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुला पर्वको अवसरमा मटिहानीको घर-घरमा पाहुनासमेत आउने र झूला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् । मटिहानीमा यसपाली मेला आयोजना गरिएको छ । रासस