• १२ असोज २०८१, शनिबार

विद्युत महसुल नतिर्ने ७ सय जना ग्राहकको लाइन काटियो

blog

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र ।

चरीकोट समाचारदाता                                                                            

चरीकोट, साउन २४ गते । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको लाइन काटेको छ ।  आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्नुको साथै १०८ जनामा ग्राहकलाई कालोसूचीमा राखेको छ। 

ग्राहकको लाइन काटेर एक वर्षमा ६२ लाख ७१ हजार ५०६ रुपियाँ विद्युत महसुल असुल गरेको विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका लेखाप्रमुख माधव प्रसाईँले बताउनुभयो । दोलखा वितरण केन्द्र अन्तर्गत  ४१ हजार ९९० ग्राहक छन् । 

वितरण केन्द्रले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियान अन्तर्गत विद्युत लाइन काटेर महसुल उठाइएको उहाँले बताउनुभयो । लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । सुरुमा धेरै रकम बक्यौता भएका सेवा ग्राहीको लाइन काटिने र क्रमशः बक्यौता नतिर्नै सबैको लाइन काटिने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले कालोसूचीमा राखेका सेवा ग्राहीबाट १० लाख ६० हजार ४११ रुपियाँ रकम असुल गरेको छ । 

विद्युत लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालो सुचीमा राखिने विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको छ ।” विद्युत महसुल तिर्न आनाकानी नगर्न सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गर्दै उहाँले महसुल समयमै नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने बताउनुभयो । वितरण प्रमुख न्यौपानेले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेलाई कालो सूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेको निगरानी गरिरहेका छौँ । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै जफत गरेर कालो सूचीमा राख्ने गरी तयारी गरेका छौँ ।” 

मिटर जडान भएका सिल नलगाई चुहावट गरिएका मिटर रिसिल गरिएको छ । मिटर जडान, मिटर रिडिङ तथा महसुल सङ्कलन, विद्युत चोरी नियन्त्रण, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन, विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइएको न्यौपानेले बताउनुभयो । 

मिटर रिडिङ भएको सात दिनसम्म दुई प्रतिशत छुटको व्यवस्था छ । १५ औँ दिनसम्म बिल अनुसारको रकम तिनुपर्ने हुन्छ । मिटर रिडिङ भएको १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औँ दिनखेखि ४० दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । 

मिटर रिडिङ भएको ४० औँ दिनसम्म पनि विद्युत महसुल नबुझाउने सेवाग्राहीलाई ४१ औँ दिनदेखि २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।