अनिल पराजुली
हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशले सङ्घसँग काम, कर्तव्य र अधिकार लगायतका विषयमा गुनासो गरिरहेको बताउँदै प्रदेश संरचनाको बारेमा अनेकखाले टीकाटिप्पणी भैरहँदा शब्दले जवाफ दिनुभन्दा सटिक कार्य सम्पादनमार्फत प्रदेश सभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले कानुनहरू छिटो, छरितो, चुस्त, दुरुस्त रूपमा निर्माण हुनुपर्ने बताउँदै विधेयक र अध्यादेशमा हुनसक्ने सम्भावित त्रुटिहरूप्रति चनाखो हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियता र जनजीविकाको मुद्दामा पार्टीगत आस्थालाई सभाको गेटबाहिरै छाडेर आफूभित्रको स्वप्रस्तुत हुनुपर्ने धारणा राख्दै समस्यालाई आपसी सहमतिमा सुल्झाएर जानुपर्ने सुझाव दिनुभयो । राजनीतिक चस्मा फुकाली महत्त्वपूर्ण जनहितका मुद्दामा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले देश सङ्घीयतामा गएपछि विकासको सुरुवात भएको बताउनुभयो । प्रदेश सरकारले नीतिगत रूपमा प्रदेशको विकास निर्माणलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै बजेट विनियोजनलाई व्यवस्थित गर्न आयोजना बैङ्क निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास र सेवा प्रवाहको संरचनाको रूपमा प्रदेश सरकार रहेको बताउनुभयो । विकास निर्माण र सेवा प्रवाहको नेतृत्व प्रदेश संरचनाले गर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
सभामुख भुवन पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, पूर्व सभामुख सानुकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।
सङ्घीयता कार्यान्वयन पश्चात् २०७४ माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई सचिवालयले वार्षिक उत्सवको रूपमा मनाउँदै आएको छ ।