• ८ मंसिर २०८१, शनिबार

नागलाई खुसी पार्न नागपूजा गरिने

blog

लेखनाथ (कास्की),  साउन २४ गते ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।

पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको बताउनुभयो । “अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दुध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ”, उहाँले भन्नुभयो, “सामान्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गरिन्छ ।”

यस दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको अधिकारीले जानकारी दिनुभयो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको उहाँले बताउनुभयो ।

“प्रत्येक घरमा नाग हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो”, पण्डित अधिकारीले भन्नुभयो, “प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा लिइन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।”

श्रावण शुक्ल पञ्चमीका दिन पोखरा–१३ स्थित कमलपोखरी र नागको मूर्ति भएका सार्वजनिक स्थान, पोखरा–८ स्थित नागढुङ्गा, पोखरा–१३ आर्वास्थित नागेश्वर मन्दिरलगायत स्थानमा विशेषरुपमा पूजाआजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायत परिकार प्रसादका रूपमा चढाउने गरिन्छ । 

पोखरा–१३ स्थित कमल पोखरीको मध्यमागमा रहेका नागको पूजा गर्न जिल्ला बाहिरबाटसमेत भक्तजनको ठुलो घुइँचो लाग्ने गरेको स्थानीय शोभाकान्त सिग्देलले बताउनुभयो । परापूर्वकालदेखि कमल पोखरीमा पाइने कमलको फूल र कमलका पात श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा लाने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा–८ नागढुङ्गामा सयौँ वर्षदेखि सामूहिक रूपमा नागको पूजाआजा गर्दै आएको नागढुङ्गास्थित नाग मन्दिर संरक्षण समितिका संरक्षक युवराज लामिछानेले जानकारी दिनुभयो । सयौँ वर्षअघि चौताराको नजिकै ठुलो ढुङ्गामा नागको आकृति भएकाले यस ढुङ्गामा नागको पूजा गरिने भन्दै अहिले पनि यसलाई संरक्षण गरी सामूहिक नाग पूजा गर्दै आइएको उहाँले बताउनुभयो । 

“यस ठाउँको नाम नागढुङ्गाबाट प्रसिद्ध छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ”, पोखरा–१३ निवासी पण्डित सुरेन्द्र बरालले भन्नुभयो । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । 

“किंवदन्तीअनुसार एकजना किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेरआउँदा आफ्ना सबै बच्चा मरेको देखेपछि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् ।

नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बाचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोड्षोपचारले पूजा गरी दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ बर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी बर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सो दिन नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ”, पण्डित बरालले भन्नुभयो । रासस