• ८ मंसिर २०८१, शनिबार

राजनीतिक नैतिकताको प्रश्न

blog

मानवीय गतिविधिमा सबैभन्दा महत्वपूर्ण राजनीति हो । राजनीतिबाट नै समाज, नागरिक र मानव जातिका लागि सर्वश्रेष्ठ या महानतम कार्य प्रदर्शन गर्न सकिन्छ तर राजनीतिमा नैतिकता भएन भने  समग्र मानव जातिकै नोक्सान हुन सक्छ । राजनीतिमा नेताको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक प्रणाली जस्तोसुकै होस्, भौगोलिक क्षेत्रफल, जनसङ्ख्या या अन्य सूचकाङ्कहरू घटी बढी जे होस्, जस्तोसुकै परिस्थितिमा पनि नेता हरेक देशमा हुन्छन् तर सबै नेता एकै प्रकारका हुँदैनन् । खराब मात्र होइनन्, असल नेताको चारित्रिक विशेषता पनि फरक फरक हुने गर्छ र त्यही फरकपनले नै उनीहरूलाई एक विशिष्ट नेताको रूपमा संसारले चिन्ने गर्छ । 

राजनीतिक नेतृत्वको सामाजिक, आर्थिक, कानुनी, स्वास्थ्य, सुरक्षा चुनौतीको व्यापक जिम्मेवारीको कारण उनीहरूले सहअस्तित्वको सम्पूर्ण समस्या हल गर्न अपरिहार्य हुन्छ । सहअस्तित्वको कुरा गर्नासाथ यहाँ सबैको एउटै अस्तित्व एउटै समुदाय, एउटै देश र अझ सम्पूर्ण विश्व सामेल हुन्छ । यसैले नैतिकता राजनीतिमा नेताहरूको महत्वपूर्ण मुद्दा हो । नैतिकता नभएको कुनै पनि नेता सम्पूर्ण मानव समाजका लागि अभिशाप हो । उदाहरणहरू नीति, नियम निर्माणलगायत धेरै क्षेत्रबाट दिन सकिन्छ तर केही वैज्ञानिक आविष्कारहरूबाट अझ व्यापक रूपमा बुझ्न सकिन्छ । दुष्ट र लालची राजनेताले वैज्ञानिक आविष्कारलाई गलत तरिकाले प्रयोग गरेर समग्र मानवतालाई नै नोक्सान पु¥याउँछ भने नैतिकवान् नेताद्वारा नियोजित त्यही ज्ञानले समग्र मानव जातिलाई कल्याण गराउँछ । 

अवधारणा

बेलायतका प्रधानमन्त्री वयस्टर्न चर्चिलको लोकप्रिय भाषण ‘वी स्याल फाइट अन दि बीचेज’ले सम्पूर्ण बेलायतका नागरिकलाई एउटै लक्ष्य र दिशामा काम गर्नका लागि प्रेरित ग¥यो । नेताको एउटै भाषणले सबै नागरिक एकजुट भएर विश्वयुद्धमा होमिएको सम्भवत त्यो एक समय मात्र होला । हुन पनि यस्तो घटना बिरलै इतिहासमा हुने गर्छ । चर्चिलले आखिर के जादु गर्नुभयो भन्नेमा राजनीतिक वृत्तमा अहिले पनि चर्चा हुने गर्छ । विज्ञ भन्छन्– चर्चिलको छविमा बेलायतका नागरिकले नैतिकता नभएको आभाष कम पाउँथे । आजकल धेरै ठुलो सङ्ख्याका मानिस एलन मस्कलाई परिवर्तनकारी नैतिकवान् नेता भन्ने गर्छन् । भलै उनी राजनीतिक व्यक्तित्व होइनन् तर उनको योगदान कुनै नेताको भन्दा कम छैन । उनको कम्पनी स्पेस एक्स, अन्तरिक्षमा चालक दल पठाउने पहिलो निजी अन्तरिक्ष उडान कम्पनी थियो । उनको एउटा भनाइ राजनीतिका साथै प्राज्ञिक क्षेत्रमा उद्धृत गरिन्छ, ‘विफलता एक (आवश्यक) विकल्प हो, यदि कुनै चिज विफल भएको छैन भने तपाईं नवपरिवर्तन गर्दै हुनुहुन्न (फेलर इज नट एन (नेसेसरी) अप्सन, इफ थिङ्स आर नट फेलिङ, यु आर नट इन्नोभेटिभ) । यहाँनेर प्रश्न के उठ्छ भने नैतिक चरित्रवान् भनेको के हो ? चर्चिलको भाषण र एलन मस्कको अन्तरिक्षको कामले उनीहरू नैतिकवान् भएको कसरी प्रमाणित गर्छ । के नैतिकवान् हुन शब्दहरू मात्रै काफी छन् । 

विज्ञका अनुसार नेताको नैतिकता भनेको एक सचेत निर्णय हो । यी दुवैको निर्णय सचेत थियो । फ्रेड कोफम्यानले आफ्नो किताब ‘कन्सियस बिजिनेस’मा लेखेका छन्, ‘सचेत हुनु भनेको जागृत हुनु, सहृदयी हुनु हो ।’ राजनीतिमा सचेत हुनुको अर्थ आफ्नो वरिपरि, आफ्ना विरोधीको साथै आफ्नै दल या सहयोगीलाई चिन्न र सम्झिनका लागि आफू सधैँ खुला रहनु हो । चर्चिल खुला थिए र जनताप्रति सहृदयी थिए र बेलायतको मूल्य प्रणालीप्रति प्रतिबद्ध थिए । शारीरिक अशक्तता हुँदाहुँदै पनि तत्कालीन महारानीसँग संवाद गर्दा उनले बेलायती परम्पराको पालना गर्नुभयो र महारानीले पटक पटक बस्नका लागि आग्रह गर्दा समेत उनले उठेर नै रिपोर्टिङ गरे । हेर्दा सामान्य लाग्ने त्यो घटनाले बेलायतीलाई चर्चिलको अनुशासन असाध्यै राम्रो भएको महसुस भयो र यस्तै सामान्य घटनाले चर्चिल बेलायतमा सर्वाधिक मन पराइए र नैतिकता भएको नेतामा परिचित भए । एलन मस्कको हरेक विचार, आविष्कार जगत् कल्याणका लागि थियो । भलै व्यक्तिगत तवरमा अन्तरिक्षको विचार मानिसका लागि अचम्मको विषय बनेको थियो र सुरुमा उहाँलाई असफलता हात लागेको थियो तर आफ्नो असफलतालाई उहाँले आत्मसात् गर्नु भयो र पछि सफल हुनुभयो । 

यसको ठिक विपरीत कतिपय नेता आफ्नो कमजोरीलाई लुकाउन अरूलाई दोष दिने गर्छन् र असफलतालाई लुकाउने गर्छन् । असल राजनेताले आफ्नो आवश्यकता मूल्य र लक्ष्यलाई अरूले सम्मान गर्ने तरिकाले प्रतिक्रिया दिने गर्छन् । आफैँले या आफ्ना आसेपासेबाहेक अन्यले सम्मान नगर्ने काम गर्नु भनेको पनि नैतिकताको क्षयीकरण भएको भन्ने सम्झनु पर्छ । नेपालको राजनीतिमा विश्वासघात भयो या मैले फाइल खोलेर ठुलो काम गर्न लागेको थिएँ तर मलाई धोका भयो भन्ने मानिसहरू सदनदेखि सडकसम्म जताततै भेटिन्छन् तर सामूहिक दृष्टिकोणले नेताले अन्य दलकालाई कुरै छोडौँ आफ्नै दलका मानिसलाई समेत नैतिक रूपले व्यवहार गर्न प्रेरित गर्न सकेको पाइँदैन । नेपालमा एउटा उदाहरण स्थापित गर्न र नैतिक व्यवहारका लागि दिशा दिन र अन्य मानिसले पनि देख्न र अनुसरण गरुन् भनेर ध्यान दिएको उदाहरण नयाँ या पुराना दलका नेतामा समेत पाउन मुस्किल छ ।  

यहाँनेर हेक्का राख्नु पर्ने कुरा के छ भने नेता बन्न सहज हुँदैन । त्यसमाथि नैतिकवान् नेता बन्न त झनै कठिन हुन्छ । व्यक्तिगतस्तरमा विश्वसनीयता र प्रतिष्ठाका लागि एक नैतिक नेता बन्न अपरिहार्य छ । यदि नेता बन्ने कसैले चाहना राखेको छ भने नेता भनेको सबभन्दा पहिला एक लामो शृङ्खलाको कडी हो भन्ने बुझ्नु पर्छ । वर्षाको खहरे गडगडाउँछ तर त्यो खहरेको गडगडाहट नदी, तलाउ या सागरमा विलिन नहुन्जेल मात्र हो । त्यस्तै अनैतिक व्यवहार गरेर कुनै नेता लोकप्रिय बन्न सक्लान तर अन्ततोगत्वा यसले ठुलो नोकसान आफैँलाई हुने गर्छ । अनैतिक व्यवहारले अरूको आत्मसम्मानमा ठुलो चोट पु¥याउँछ । 

खहरे जस्तै गडगडाएर कुनै अमूक नेतालाई बिना प्रमाण आचरणको प्रश्न उठाउँदा उसको आत्मसम्मानमा ठुलो चोट पुग्छ र कालान्तरमा यसको परिणाम मित्रवत् हुँदैन र व्यक्ति आफ्नो पूरा क्षमता व्यक्त गर्ने अवसरबाट चुक्न जान्छ । बिना प्रमाण भ्रष्टाचारीको बिल्ला भिराउन कसैलाई पनि मिल्दैन । भ्रष्टाचार अनुसन्धान तथा आरोपित गर्ने अधिकार भएका संस्थाहरू छन् । नैतिकवान् नेताले ती संस्थाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्नेदेखि तिनीहरूलाई सक्रिय बनाउने गर्नु पर्छ । कसैलाई भ्रष्टाचारी भनेर आरोप लगाउन नैतिकवान् नेतालाई सुहाउँदैन ।  

राजनीतिक नैतिकता भनेको नेताको असल व्यवहार निर्माणको एउटा विचारधारा हो । राजनीतिक नैतिकता अवधारणा हो, जसलाई राजनेताले आफ्नो व्यवहारमा लागु गर्न आवश्यक हुन्छ । नेता या राजनीतिक कार्यकर्ताको राजनीतिक नैतिकता, इमानदारी, निष्पक्षता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर असल नेतृत्व निर्माणका लागि मूल्य र नैतिकतालाइ प्राथमिकता दिएर भ्रष्टाचार जस्तो निम्न स्तरको व्यवहारबाट बच्नु नै लक्ष्य हुनु पर्छ । नेपालका राजनीतिक नेताले आफ्नो समस्यामा ध्यान दिनु पर्छ किनकि उनीहरूको प्रत्येक क्रियाकलापमा राजनीतिक नैतिकता निहित हुने गर्छ र त्यो भनेको नेतृत्व निर्माणका लागि नेता र कार्यकर्ता आफ्नो विचारधाराबाट विचलित नहुने हो । नैतिकता भनेको एउटा नेताले व्यवहारमा देखाउने अवधारणा नै हो । 

नैतिक कम्पास

राजनीतिमा नेताको काममा एउटा विशिष्ट शृङ्खला समावेश भएको हुनु पर्छ तर नेता भनेको पनि एउटा व्यक्ति हो र ऊसँग राष्ट्र प्रबन्धन गर्नका लागि सम्पूर्ण ज्ञान हुन सम्भव छैन । यसैले कुनै पनि एक नेता महान् अर्थशास्त्री, महान् चिकित्सक, वार्ताकार, अन्तर्राष्ट्रिय सम्बन्धको विशेषज्ञ, सैनिक मामिलाको अधिक उत्तम प्रतिभाशाली व्यक्ति हुन सक्दैन । देश सञ्चालन गर्नका लागि आवश्यक सम्पूर्ण गुण र ज्ञान कसैसँग पनि हुन सम्भव हुँदैन । 

मिश्रको फिरौनदेखि अठारौँ शताब्दीको फ्रान्सिसी शब्दकोष, इन्साइक्लोपेडियासम्म मानिसलाई यो बुझ्न हजारौँ वर्ष लाग्यो कि राजनीतिक शासन तीन अलग अलग स्वतन्त्र कार्यपालिका, न्यायपालिका या विधायिकाद्वारा सञ्चालन हुने गर्छ न कि कुनै एक व्यक्तिबाट । तैपनि आधुनिक समयको जटिलताले गर्दा प्रत्येक नेतालाई कठिनतम प्रशासनिक समस्यासँग जुध्न पर्ने हुन्छ । यसैले उनीहरूलाई एउटा उडान चार्ट र नैतिक कम्पासको आवश्यक्ता हुन्छ । उडान चार्ट समय अनुसारको योजना हो, जुन शासनमा बस्दा सहयोगी र सल्लाहकारले दिन सक्छन् तर नैतिकता या नैतिक कम्पास एक अधिक आधुनिक उपकरणलाई समय अनुसार सन्दर्भित गर्नका लागि आवश्यक सिद्धान्त र गुण हो । यो गुणलाई कसरी सही प्रयोग गर्ने भन्ने ज्ञान नेतामा हुनै पर्छ । यसका लागि सबभन्दा पहिला नेता स्वयम्मा भरोसा हुन आवश्यक छ । 

राजनीतिमा कडा मेहनत, उदारता, विनम्रता, इमानदारी जस्तो गुण हुन अपरिहार्य छ किनकि दुनियाँभर त्यसमाथि पनि नेपालमा प्रभावकारिता तत्काल आवश्यक छ र यस्ता गुण भएका नेतालाई मात्र सामान्य नागरिकले समेत सराहना गर्ने गर्छन् । यसैले नेपालमा विरोध, बन्द, हडताललगायत क्रान्ति, प्रतिक्रान्ति गर्ने दल, सङ्घ सङ्गठनभन्दा पनि नैतिकतालाई बढावा दिने सङ्घ सङ्गठनलगायत दलको आवश्यकता बढी छ । नेतामा नैतिकताको गुण आयो भने अन्य सबै समस्या स्वतः समाधान हुँदै जान्छ । 

 

Author

प्रदिप्नराज पन्त