• ८ मंसिर २०८१, शनिबार

अतिवादले ढलेको शासन

blog

राजनीति गर्नेले सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्नु हुँदैन । नेताले गर्ने काम जनपक्षीय भएन भने कुनै पनि बेला जनआक्रोशको सिकार बन्न सकिन्छ । भनिन्छ, राजनीति गर्नेलाई अवसर मिले कहिले हस्तिनापुरको राज पनि मिल्छ त कहिले अवसर गुमे चपरीमुनिको बास पनि हुन बेर लाग्दैन । बङ्गलादेशको २० वर्ष सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदलाई अतिवादी कामले सत्ताबाट बहिर्गमन मात्र हुनु परेन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र बनाउने उहाँका पिता एवं संस्थापक नेता शेख मुजिबुर रहमानको योगदान र सैनिक शासनविरुद्ध लोकतन्त्र स्थापना गर्न हसिनाले गर्नुभएको योगदान आन्दोलनकारीको आक्रोशको सिकार भएको छ । 

राजीनामा दिएर विदेश पलायन हुनुभएकी हसिना र उहाँको परिवारप्रति यतिखेर कसैको पनि सहानुभूति देखिँदैन । हसिनाकै कारण सबै समस्या आएको ठानिँदै छ । उहाँले राजीनामा दिएर विदेश पलायन हुँदा पनि देशमा थप हिंसा र विध्वंस भने रोकिएको छ ।  

हसिना नेतृत्वको अतिवादी सत्ता ढलेसँगै जारी हिंसात्मक आन्दोलन एकाएक रोकिएर वार्ता र संवादतर्फ अग्रसर भएको छ । पहिले एक कार्यकाल र पछि लगातार चार कार्यकाल गरी पाँच कार्यकाल सत्ता चलाएकी हसिना विद्यार्थी आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएर देश छाडेसँगै त्यहाँको राजनीतिले नयाँ मोड लिँदै छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै राष्ट्रपति मोहम्मद साहबुद्दिनले गत जनवरी ७ मा संसदीय आमनिर्वाचनबाट बनेको संसद् भङ्ग गर्नुभएको छ । उहाँको आदेश अनुसार नजरबन्दमा रहेकी विपक्षी नेतृ बेगम खालिदा जियालाई रिहा गरिएको छ । राष्ट्रपति साहबुद्दिन र सेना प्रमुख वकर उज जमान दुवैको सहमतिमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । हसिनाको पेलानमा परेर युनुस पेरिसमा बस्दै आउनुभएको थियो । अब नयाँ संसद्का लागि छिटो चुनाव गराइने छ । यसबाट मुलुकले सहज निकास पाउने आशा पलाएको छ । 

सरकारी जागिरमा रहेको विभेद र अन्यायपूर्ण कोटा प्रणालीविरुद्ध विद्यार्थीले चलाएको आन्दोलन चर्को सरकारी दमन भएसँगै झनै उत्कर्षमा पुग्यो । अगस्त ४ (आइतबार) को आन्दोलनमा एकैदिन ९१ आन्दोलनकारी मारिएपछि प्रधानमन्त्रीको राजीनामा मागसहित चर्केको आन्दोलन थेग्न नसक्ने चरणमा पुग्यो । देशव्यापी अनिश्चितकालीन कफ्र्यु लगाएर सेना परिचालन गर्दासमेत आन्दोलन रोकिएन । सोमबार अनियन्त्रित हजारौँको भिडले सरकारी कार्यालयहरू, प्रहरी चौकी र अन्य स्थानमा आक्रमण गर्नुका साथै आगजनीसमेत गरेको थियो । हसिनाको पार्टी अबामी लिगका एक नेताको स्वामित्वमा रहेको एउटा होटलमा प्रदर्शनकारीले लगाइदिएको आगोमा परी २४ जनाको मृत्यु भएको थियो । सोमबार राजधानी ढाकालगायत सहरभरि सेना र प्रहरी परिचालन भएका थिए । मोबाइल फोन र इन्टरनेटसमेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए । सोमबारको हिंसामा पनि ठुलो सङ्ख्यामा आन्दोलनकारी र सर्वसाधारण मारिएको विवरण आए पनि आधिकारिक तथ्य बाहिर आएको छैन । 

अन्ततः जनआक्रोशले आफ्नो र परिवारका सदस्यको ज्यानसमेत जोखिममा परेको ठानी हसिनाले अगस्त ५ (सोमबार) मा राजीनामा दिई भारततर्फ पलायन हुनुभयो । उहाँको सत्ता ढलेसँगै राजधानी ढाकामा आन्दोलनकारीले खुसी मनाउनुका साथै प्रधानमन्त्रीको सरकारी निवासमा र हसिनाका पिता बङ्गलादेशका संस्थापक नेता सेख मुजिबुर रहमानको सालिकसमेत तोडफोड गरेका छन् । बङ्गलादेशमा विद्यार्थीले लामो समयदेखि कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै आएका थिए । विद्यार्थीले आन्दोलन गरेपछि हसिना सरकारले सन् २०१८ मा यो प्रणाली हटाएको थियो । दुई महिनाअघि जुन ५ मा ढाका उच्च अदालतले सरकारको निर्णय उल्टाइदियो । यहीँबाट हसिना सरकारको दिनगन्ती सुरु भएको हो ।

बङ्गलादेश सन् १९७१ हसिनाका पिता एवं बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको अगुवाइमा पाकिस्तानबाट स्वतन्त्र भएको थियो । देश स्वतन्त्रता हुने क्रममा भएको सङ्घर्षमा २५ लाख मानिसको ज्यान गएको थियो । सङ्घर्षमा होमिएका र मारिएका स्वतन्त्रता सेनानीको परिवारलाई सहयोग गर्न सन् १९७१ मा त्यहाँ सरकारी सेवामा ८० प्रतिशत कोटा प्रणाली लागु भयो । स्वतन्त्रता सेनानीका सन्तानलाई जागिरमा ३० प्रतिशत, पिछडा जिल्लाका लागि ४० प्रतिशत, महिलाका लागि १० प्रतिशत आरक्षण दिइयो । सामान्य छात्रका लागि केवल २० प्रतिशत सिट मात्र राखियो । यसको विरोध हुन थालेपछि सन् १९७६ मा पिछडिएको जिल्लाका लागि आरक्षण घटाएर २० प्रतिशत गरियो । सामान्य विद्यार्थीका लागि यसले केही राहत दियो । उनीहरूका लागि ४० प्रतिशत सिट भयो । 

सन् १९८५ मा पिछडिएको जिल्लाका लागि आरक्षण सिट अझै घटाएर १० प्रतिशतमा झारियो र अल्पसङ्ख्यकको कोटा पाँच प्रतिशत जोडियो । यसबाट सामान्य विद्यार्थीका लागि ४५ प्रतिशत सिट भयो । सुरुका दिनमा स्वतन्त्रता सेनानीका सन्तानले पाउने आरक्षण केही वर्षपछि खाली हुन थाल्यो । यसको फाइदा सामान्य विद्यार्थीले लिन पाउँथे । सन् २००९ मा हसिनाको सरकार आएपछि फेरि स्वतन्त्रता सेनानीका नाति–पनातिले पनि आरक्षण पाउन थाले । यसले सामान्य विद्यार्थीमा चिन्ता बढ्न गयो । सन् २०१२ मा अपाङ्गता भएका विद्यार्थीका लागि एक प्रतिशत कोटा जोडियो । यसबाट कुल कोटा ५६ प्रतिशत हुन पुग्यो । सामान्य वर्गका लागि ४४ प्रतिशत सिट बच्यो । 

सन् २०१८ मा चार महिनासम्म विद्यार्थीले आन्दोलन गरेपछि हसिना सरकारले कोटा प्रणाली नै खारेज ग¥यो । अचानक ढाका उच्च अदालतले गत जुन ५ मा सरकारलाई सन् २०१२ को आरक्षण प्रणाली लागु गर्न आदेश दियो । अदालतले सन् २०१८ भन्दा पहिले जसरी आरक्षण मिल्थ्यो त्यसलाई त्यही अनुसार नै लागु गर्न आदेश दियो । यसबाट सामान्य वर्गका विद्यार्थी भड्किए र सडकमा उत्रिए । उनीहरूले तीन सय जनाभन्दा बढीको ज्यान जाने गरी चलाएको दुई महिनाको हिंसात्मक आन्दोलनले अन्ततः हसिना सरकार नै ढल्यो । 

सन् १९४७ को २८ सेप्टेम्बरमा जन्मिएकी ७६ वर्षीया हसिनाले सन् १९६७ मा वाजेद मियाँसँग बिहे गर्नुभयो । उहाँका पिता रहमानले सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्नुभयो र स्वतन्त्रतापछि उहाँ प्रधानमन्त्री बन्नुभयो । सन् १९७५ को १५ अगस्तमा सैनिक ‘कु’ हुँदा ढाकामा रहमान परिवारको हत्या भयो । त्यति बेला हसिना, उहाँकी बहिनी रिहाना र पति वाजेद तथा छोराछोरी पश्चिम जर्मनी भएका कारण बाँच्न सफल भए । उहाँहरू सन् १९७५ मा भारत आउनुभयो र छ वर्षसम्म भारतमै बस्नुभयो । 

सन् १९८१ मा हसिनालाई अवामी लिग पार्टीले अध्यक्ष बनाएसँगै उहाँ राजनीतिमा सक्रिय हुनुभयो । सुरुका दिनमा उहाँले देशमा लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्नुभयो । उहाँले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग मिलेर आन्दोलन गर्नुभयो । दुई नेतृको अगुवाइमा सन् १९९० मा भएको आन्दोलनले बङ्गलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासन अन्त्य भई लोकतन्त्र स्थापना भयो । देशमा लोकतन्त्र ल्याउन दुई नेतृको योगदानको उच्च मूल्याङ्कन भयो । दुई नेतृ मिलेर लोकतन्त्र ल्याएपछि अब मुलुकमा सहमति र मेलमिलापको राजनीतिले स्थान पाउने अपेक्षा गरिएको थियो तर जनअपेक्षा अनुसार काम भएन । 

लोकतन्त्र स्थापना भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता चलाउनुभयो । यसबिचमा हसिना र जियाबिचको सम्बन्ध चिसियो । जसका कारण बङ्गलादेशको राजनीति अस्थिर बन्न पुग्यो ।

हसिना भने सन् १९९६ मा चुनाव जितेर पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । त्यसको पाँच वर्षपछि भने उहाँ जियासँग पराजित हुनुभयो । जसका कारण सन् २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री बन्नुभयो । सत्ताको हानथापले दुई नेतृबिचको सम्बन्ध थप बिग्रियो । यो द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो । दुई नेतृबिचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लियो । पछि सेना प्रमुख जनरल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिनुभयो ।

अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेलसमेत हालेको थियो । मुद्दा फिर्ता लिइएपछि हसिना सन् २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा हुनुभयो । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना पुनः प्रधानमन्त्री बन्नुभयो । सन् २००९ यता उहाँ लगातार चार पटक सत्तामा रहनुभयो । विपक्षी र आफ्ना विरोधीलाई दमन गर्दै हसिनाले पछिल्ला चार कार्यकाल एकछत्र शासन गर्नुभयो । उहाँले राजनीतिक स्थिरता दिएका कारण मुलुकको अर्थतन्त्रमा त सुधार भयो तर आमजनतामा भने निराशा र आक्रोश बढ्दै गयो । 

पछिल्लो चार कार्यकालमा त अझ हसिना लोकतन्त्रवादीबाट तानाशाहीको बाटोमा निरन्तर अघि बढेको भन्दै उहाँको आलोचना भयो । सन् २०१४ यता त जियासहित विपक्षीहरूप्रति हसिना थप कठोर बन्नुभयो । सन् २००९ देखि २०२४ सम्म हसिना लगातार चार पटक प्रधानमन्त्री बनेर नयाँ इतिहास बनाउनुभयो । उहाँले मुलुकलाई राजनीतिक स्थिरता दिनुभयो तर लोकतन्त्रका नाममा विपक्षी नेता तथा कार्यकर्तालाई हदैसम्म पेल्नुभयो । विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री बेगम खालिया जियालाई भ्रष्टाचारको मुद्दा लगाएर जेल हाल्नुभयो । थुप्रै विपक्षी नेता तथा कार्यकर्ता जेल परे । त्यसै कारण हरेक चुनाव विपक्षीले बहिष्कार गरेपछि उहाँले एकलौटी जित्नुभयो । विपक्षीले बहिष्कार गरेको गत जनवरी ७ मा भएको निर्वाचनमा हसिनाको पार्टीले तीन सय सिटमध्ये २२४ सिट जितेसँगै हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्नुभयो । यस पटक भने उहाँलाई सत्ता शुभ भएन । देशै छाडेर भाग्नु प¥यो । 

हसिनाले राजीनामा दिएर देश छाडेपछि मुलुकमा अब के होला भनी विभिन्न अड्कलबाजी गरिँदा पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकार गठनमा जोड दिएको छ । युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ । छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

पछिल्लो निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीका रूपमा उदाएकी हसिनाको पतन हुनुमा उहाँको शासकीय शैली जिम्मेवार छ । बङ्गलादेशमा लोकतन्त्रका लागि लडेकी हसिना लोकतान्त्रिक आवरणको बलमा अधिनायकवादी बाटोमा हिँड्दा अन्ततः मुलुकै छोडेर भाग्नु परेको छ ।   

Author

रामप्रसाद आचार्य