• ८ मंसिर २०८१, शनिबार

मिथिलामा धुमधाम मधुश्रावणी

blog

व्रतालुलाई ‘टेमी’ दिइँदै । तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा), साउन २४ गते ।  मिथिला संस्कृतिमा महत्वसाथ मनाइने मधुश्रावणी पर्व बुधबार सम्पन्न भएको छ । साउन शुक्ल पञ्चमीदेखि सुरु भई शुक्ल तृतीयाको अन्तिम दिन व्रतालुलाई पानको पातमा दुलो बनाएर कपासको बत्तीले घुँडामा दागेपछि मधुश्रावणी पर्व समापन भएको मानिन्छ । यसरी बत्ती दिने परम्परालाई ‘टेमी’ भनिन्छ । जनकपुरकी वन्दना चौधरीका अनुसार, “हिन्दु धर्ममा केही विशेष पर्व मात्र छन् जसमा महिला पुरोहितद्वारा नै अनुष्ठान गरी सम्पूर्ण विधि विधान गरिन्छ । मधुश्रावणीमा पनि महिलाद्वारा नै पूजा गरिन्छ । त्यसैले मधुश्रावणी पर्व महिला सशक्तीकरणको उदाहरण हो ।”

लक्ष्मीनियाकी प्रतिभा झाले माइतीमै रहेर मधुश्रावणी पूजा गर्नुभयो । उहाँका अनुसार मधुश्रावणीको पूजा विवाहिता महिलाले पहिलो वर्ष गर्ने गरिन्छ । माइती बसेर यो पर्व मनाइन्छ । त्यसका लागि केटाको घरबाट नै खाद्यान्न सामग्री र प्रसाद पूजामा चढाउनुपर्ने हुन्छ । उहाँका अनुसार यो व्रत निकै नै कठोर हुन्छ । यसमा १५ दिनको अवधिमा चोखो खानेकुरा मात्रै खाइन्छ । बिहान घरमै पूजा गरिन्छ । साँझ फूललोढी (फूल सङ्कलन) गरी त्यही बासी फूलले देवीदेवतालाई पूजा गरिन्छ । यसमा जाहीजुही, पान, अकौन, अडहुललगायत फूल हुन्छ । 

अहिले बर्साकालको समयमा सर्प बाहिर आउँछन् । त्यसैले यस पूजामा नाग–नागिनको धेरै महìव छ । यो पर्व ब्राह्मण, भूमिहार, कायस्थ, सुनारलगायत जातिले धुमधामसाथ गर्छन् । पतिको दीर्घायु तथा परिवारजनमा खुसीका लागि मिथिला क्षेत्रमा महिलाले धुमधामसाथ मधुश्रावणी मनाउने गर्छन् । 

जनकपुरधामकी गुरिया झाका अनुसार छिमेकीको छोरीको जेठ महिनामा विवाह भएको थियो । उसको यो पहिलो मधुश्रावणी भएकाले १५ दिनसम्म साँझ बिहान लोकगीत गाएर खुवै मनोरञ्जन गरेको गरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै महिला भेला भएर गीत गाउने, रमाइलो गर्ने, हँस्सीठट्टा गर्दै १५ दिन बितेको पत्तै भएन ।”

मधेश प्रदेश सभा सदस्य ललिता दासले मिथिला संस्कार र परम्परा अनुसार नवविवाहित जोडीले विवाहको पहिलो एक वर्षमा थुप्रै पर्व मनाउनुपर्ने र त्यसमध्ये मधुश्रावणी एक महत्वपूर्ण पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जसमध्ये साउन महिनामा मनाउने मधुश्रावणीमा महिलाद्वारा नै पूजा गराइन्छ । यो पूजामा सारी कपडालगायत आफ्नो अवस्था र स्वेच्छा अनुसार दक्षिणा दिने गरिन्छ ।”