• १२ असोज २०८१, शनिबार

बिम्स्टेक राष्ट्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह

blog

बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

काठमाडौँ, साउन २४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ । 

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पु¥याउन तथा सहयोग बढाउन आग्रह गर्नुभयो । 

“यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाबिचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनस्र्थापना हो,” मन्त्री भण्डारीले भन्नुभयो ।

यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’ जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूल र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनु पर्छ, बिम्स्टेकभित्रका हाम्रा सामूहिक प्रयासले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र साझा वृद्धि तथा विकासका अवसरलाई बढावा दिने शक्ति छ,” उहाँले भन्नुभयो । 

मन्त्री भण्डारीले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनअघि पछिल्ला वर्षमा लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “प्राविधिक विकास, व्यापार गतिशीलता परिवर्तन र विकसित उपभोक्ता प्राथमिकताहरू सबैले विश्वव्यापी आर्थिक परिदृश्यमा द्रुत परिवर्तनमा योगदान पु¥याएको छ, क्षेत्रीय व्यापार र लगानी सम्झौताहरू यी परिवर्तनको राम्रोसँग सामना गर्न महत्वपूर्ण छन् ।”

यस सन्दर्भमा, बिम्स्टेकले यस क्षेत्रको दिगो आर्थिक वृद्धिका लागि सहकार्य, अविष्कार र अनुकूल वातावरण सिर्जना गर्न हाम्रा लागि महत्वपूर्ण थलोका रूपमा काम गरिरहने उहाँले बताउनुभयो । 

उहाँले नेपाल सरकारले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवर्धन गर्न निरन्तर नीतिगत सुधार गरेको जानकारी गराउनुभयो । यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । 

भूपरिवेष्टित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मूलतः वैदेशिक व्यापारमा नेपाल जस्तो भूपरिवेष्टित देशको पारवहन अधिकारका लागि हाम्रा छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएकामा हामी प्रशंसा गर्छौं, साना र भूपरिवेष्टित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिने छ भन्नेमा हामी आशावादी छौँ ।”