• ८ मंसिर २०८१, शनिबार

स्तनपान गराउँदा आमा र बच्चाको सम्बन्ध बलियो हुन्छ

blog

काठमाडौँ, साउन २४ गते । शिशु जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दुध खुवाउन चिकित्सकको आग्रह छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. शैलेन्द्र वीर कर्माचार्यले आमाको दुध शिशुको लागि अमृत समान हुने हुँदा शिशु जन्मिएको एक घण्टा भित्र आमाको बिगौती दुध खुवाउन आग्रह गर्नुभएको हो । 

आमाको बिगौती दुधले शिशुको रोगसँग लड्नसक्ने क्षमतालाई बढाउने उहाँ बताउनुहुन्छ ।  उहाँका अनुसार आमाको दुध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । 

डा. कर्माचार्यले पहिलो पहेँलो बिगौती दुधले खोप सरह काम गर्ने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “भरखर जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । स्तनपान गराउँदा दुधको माध्यमबाट आमाको शरीरमा बनेको एन्टीवडी बच्चाको शरीरमा जाने गर्छ । त्यसैले यसले खोपकाे काम गर्छ भनिएको हो ।” 

आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व पाइने हुँदा शिशु जन्मेदेखि ६ महिनापुरा नभएसम्म आमाको दुध मात्रा खुवाउन उहाँको आग्रह छ । उहाँले कम्तीमा २ वर्षसम्म निरन्तर स्तनपान गराउन आग्रह गर्नभयो । 

कामकाजी आमाले पनि पूर्ण स्तनपान गराउन उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “सुत्केरी विदा सकिएपछि अफिस जानु अगाडी बट्टामा दुध निकालेर राखेर बच्चा भोकाएको बेला बच्चालाई खुवाउन सकिन्छ । यसरी निकालेको दुध २४ घण्टासम्म खुवाउन सकिन्छ ।”

शल्यक्रियाबाट बच्चा जन्माएका आमाले पनि अरुको सहारामा पहिलो बिगौती दुध खुवाउन मिल्ने डा. कर्माचार्यको भनाई छ । 

दुध खुवाउँदा हुने फाइदा 

स्तनपान गराउँदा आमा बच्चा दुवैका लागि फाइदाजनक भएको डा. कर्माचार्य बताउनुहुन्छ । स्तनपान नगर्ने बच्चामा झाडापखाला निमोनिया हुने सम्भावना बढी हुने गर्छ । स्तनपानले बाल मृत्युदर पनि घटाउन मद्दत गर्छ ।  ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा निमोनिया, झाडापखाला, कान, छाला, पेट तथा श्वासप्रश्वासका सङ्क्रमण रोगसँग लड्न सक्ने क्षमता बढ्ने उहाँको भनाइ छ ।  

पूर्ण स्तनपान गरेका बच्चा शारीरिक तथा  मानसिक रूपमा स्वस्थ हुने विभिन्न अध्ययनहरूले देखाएको छ । पूर्ण स्तनपान गरेका बच्चामा भविष्यमा दीर्घरोग लाग्ने सम्भावना पनि कम हुने उहाँ बताउनुहुन्छ । त्यसका साथै आमाको बच्चाको सम्बन्ध राम्रो हुन्छ । 

शिशु जन्मने बित्तिकै आमाको दुध चुसायो भने सालनाल छिटै बाहिर निस्कने डा. कर्माचार्य बताउनुहुन्छ । उहाँका अनुसार स्तनपान गराउने आमाको रत्तश्राव कम हुने गर्छ । उहाँ भन्नुहुन्छ, “शिशु दुध चुस्दा पाठेघर खुम्चिन्छ जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँदछ ।” उहाँका अनुसार महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ । आमामा मुटुरोग, कोलेस्ट्रोल लगायतका दीर्घरोग लाग्ने सम्भावना कम हुन्छ । स्तनपान गराउने आमाको मानसिक स्वास्थ्य पनि राम्रो हुने उहाँ बताउनुहुन्छ । डा. कर्माचार्यका अनुसार ६ महिनासम्म स्तनपान गराउँदा परिवार नियोजनको काम गर्छ । 

आमाको दुध पूर्ण आहार 

डा. कर्माचार्यका अनुसार आमाको दुध बच्चाको पूर्ण आहार हो । ६ महिनासम्म आमाको दुध बाहेक बालबालिकालाई केही पनि आवश्यक नपर्ने डा. कर्माचार्य बताउनुहुन्छ ।  बालबालिकालाई आवश्यक पर्ने पानी र खनिज जस्ता तत्त्वहरू आमाको दुधमा पाइने उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“आमाको दुध सफा, पोसिलो र ठिक तापक्रमको हुन्छ । यो कम खर्चिलो छ । आमासँगको आत्मीयता बढाई शिशुको मानसिक, बौद्धिक, शारीरिक तथा सामाजिक विकास गर्छ ।” 

आमाको दुध जुनसुकै बेला जहाँ पनि खुवाउन सकिन्छ । गाई भैँसीको दुधमा बालबालिकालाई चाहिने पोषण तत्व बढी हुने हुँदा पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने डा. कर्माचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आमाको दुधमा बच्चालाई चाहिने पोषण तत्त्व आमाको दुधमा पाइन्छ । गाई भैँसीको दुधमा बच्चालाई चाहिने पोषण कुनैमा बच्चालाई आवश्यक पर्ने भन्दा बढी हुन्छ भने कुनैमा चाहिनेभन्दा कम हुने हुने बालबालिका बिरामी पर्ने गर्दछन् ।”

शिशुलाई आमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने 

२४ घण्टामा चार पाँच पटक पिसाब गरेको छ भने दुध पुगेको छ भनेर मान्न सकिने उहाँ बताउनुहुन्छ। सुरुवाती चरणमा शिशुलाई पाँच देखि १० एमएलमात्र दुध भए पुग्ने डा. कर्माचार्ययको भनाई छ । उहाँ भन्नहुन्छ,“धेरै आमाले शिशुलाई दुध पुगेन भनेर विभिन्न फमुर्ला मिल्क दिन सुरु गर्नुहुन्छ । 

शिशुलाई सुरुवाती चरणमा पाँच देखि १० एमएल दुध भएपुग्छ । २४ घण्टामा चार पाँच पटक पिसाब गरेको छ भने दुध पुगेको मान्न सकिन्छ” । 

स्तनपान गराउने आमालाई प्रसस्तमात्र पोषणयुक्त खानेकुराका साथै आरामको आवश्यक पर्ने डा. कर्माचार्य बताउनुहुन्छ । 

नेपालमा स्तनपानको अवस्था 

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा  जन्मेको १ घण्टाभित्र स्तनपान ५५ प्रतिशत, ६ महिना सम्म पूर्ण स्तनपान ५६ प्रतिशत , २ वर्षसम्म स्तनपान ९४ प्रतिशतले गराउने गरेको देखाएको छ । 

सरकारले सन् २०३० सम्म स्तनपान गर्नेको सङ्ख्या बढाएर ९० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिएको छ । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।