• १२ असोज २०८१, शनिबार

बयालिस वर्षपछि फर्काइयो नागराज

blog

काठमाडौँ, साउन २२ गते । काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।

सो मूर्ति लिन बाजागाजासहित स्थानीय छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय पुगेका थिए । पुरातत्व विभागका पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार १२/१३ औँ शताब्दीको नागराजको मूर्ति पुरातात्त्विक महत्वको छ । सो मूर्ति चोरी भएर अमेरिकाको प्राइभेट अक्सनमा पुगेको अवस्थामा नेपालले प्रमाणसहित दाबी गरेर २०७९ मा फिर्ता ल्याएको हो । नेपाल फिर्ता ल्याएपछि संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा पठाइएको थियो । पुरातत्व अधिकृत सुवेदीले भन्नुभयो, “शङ्कर कृति महाविहारसँग सरोकारवाला स्थानीयले चोरी हुनुभन्दाअघिका तस्बिर र मूर्ति राख्ने पादपीठसमेत त्यहीँ रहेको प्रमाणसहित विहारमै संरक्षण गरिने प्रतिबद्धता गर्दै जिल्ला प्रशासन र वडाको सिफारिस लिएर आउनुभएपछि सोमबार मूर्ति सरोकारवालालाई  हस्तान्तरण गरिएको  हो ।” 

वासुकी नागराजको मूर्ति सन् १९८२ मा चोरी भई अमेरिका पु¥याइएको थियो । काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य रोशन श्रेष्ठले ४२ वर्षअघि विहारबाट चोरी भई विदेश पुगेको नागराजको मूर्ति सोही स्थानमा साइत अनुसार पूजा–प्रार्थना गरी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले विदेश पुगेको ढुङ्गाको कलात्मक मूर्ति नेपाल फर्काएर छाउनीको राष्ट्रिय सङ्ग्रहालयमा राखिएकोमा पुरानो तस्बिर र अन्य विवरणका आधारमा छानबिन गरी त्यस मूर्तिलाई विहारमै फर्काइएको बताउनुभयो ।