• १२ असोज २०८१, शनिबार

धनकुटा अदालतमा ८३ प्रतिशत मुद्दा फर्छ्यौट

blog

अदालतले सोमबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रम ।

कबिराज घिमिरे 

हिले, साउन २१ गते । उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०-०८१ मा ३ सय ७९ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सोमबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउनदेखि २०८१ असारसम्ममा ४ सय ५२ थान मुद्दामध्ये ३ सय ७९ थान फर्छ्यौट गरेको जनाएको हो । 

अदालतमा जिम्मेवारी सरेको एक सय ३२ र नयाँ दर्ता ३ सय २० गरी ४ सय ५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले एक वर्षभन्दा पुराना मुद्दा सङ्खुवासभा जिल्ला अदालत र उच्च अदालत विराटनगर धनकुटा इजलासमा नरहेको र दुई वर्ष कटेका मुद्दा उच्च अदालत विराटनगर धनकुटा इजलास मातहत कुनै अदालतमा नरहेको जानकारी दिनुभयो । 

यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फर्छ्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ७६ दशमलव ४६, तेह्रथुम जिल्ला अदालतले ६८ दशमलव १६, भोजपुर जिल्ला अदालतले ७९ दशमलव ४४ र सङ्खुवासभा जिल्ला अदालतले ७६ दशमलव ८१ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन्। धनकुटा जिल्ला अदालतले ६ सय ६७ मा ५ सय १०, तेह्रथुम जिल्ला अदालतले ४ सय २ मा २ सय ७४, भोजपुर जिल्ला अदालतले ५ सय ७४ मा ४ सय ५६ र सङ्खुवासभा जिल्ला अदालतले ५ सय ३९ मा ४ सय १४ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

यस्तै, धनकुटा जिल्ला अदालतमा १ सय ९९, तेह्रथुम जिल्ला अदालतमा ९९, भोजपुर जिल्ला अदालतमा २ सय २१ र सङ्खुवासभा जिल्ला अदालतमा १ सय ३८ थान मुद्दा जिम्मेवारी सरेका छन् । नयाँ दर्तामा धनकुटा जिल्ला अदालतमा ४ सय ६८, तेह्रथुम जिल्ला अदालतमा ३ सय ३, भोजपुर जिल्ला अदालतमा ३ सय ५३ र सङ्खुवासभा जिल्ला अदालतमा ४ सय १ थान मुद्दा रहेका थिए।