नेत्र शाही
जुम्ला, वैशाख ६ गते। जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त भएका छन्। जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिका– ७, बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिका ६ वटा वडा बालविवाह मुक्त घोषणा भएका हुन्।
हिमा गाउँपालिकाका अनुसार अब हिमाका वडा नम्बर १, २, ३, ४, ५ र ७ वडा बालविवाह मुक्त वडा घोषणा भएका छन्। बालविवाहले मानिसको जीवनमा गर्ने असरलाई न्युनीकरण गर्नका लागि हिमा गाउँपालिकाले सबै वडामा आधारभूत सूचक पुरा गरेर बालविवाह मुक्त गाउँपालिका अभियानमा अगाडि बढेको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार पछिल्लो समय हिमा गाउँपालिकाका ६ वटा वडा गाउँपालिका, वडा पालिका, साझेदार गैरसकारी संस्थाको साझेदारी तथा स्थानीयको उपस्थितिमा बालविवाह मुक्त घोषणा भएका र अब बाँकी एउटा मात्रै वडा रहेकाले चाँडै बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको छ।
यसैगरी हिमा गाउँपालिकाका ६ वटा वडासहित जुम्ला जिल्लाका १४ वटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन्। हिमा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ७ वडा बालविवाह मुक्त वडा, सिंजा गाउँपालिकाको वडा नम्बर २,४ र ६ कनका सुन्दरी गाउँपालिका वडा नम्बर ४ र ५, पातारासी गाउँपालिकाको वडा नम्बर ५, तिला गाउँपालिकाको वडा नम्बर ६ र गुठिचौर गाउँपालिका ४ यसअघि नै बालविवाह मुक्त घोषणा भइसकेका छन्।
हिमा गाउँपालिकाले “बिहेवारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता, बालविवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता“भन्ने मूल नाराका साथ हिमा गाउँपालिका–७ लाई समेत बालविवाह मुक्त वडा घोषणा गरेको हो।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार समाजमा बालविवाह समाजमा बढी असर गरेका कारण हिमाका वडा बालविवाह मुक्त घोषणा गरिँदै गएको बताउनुभयो। उहाँले वडा नम्बर ७ सहित पाँच वटा वडा घोषणा गरिएको जानकारी दिनुभयो। उहाँले बालविवाह छुवाछुत मुक्त गर्ने सवाल न्युनीकरण गर्न प्रयास गरिएको जानकारी दिनुभयो।
गाउँपालिका उपाध्यक्ष सुनर्ना शाहीले गाउँपालिकाले घोषित वडामा बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको जानकारी दिएका छन्।
नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाको सहयोग र समन्वयमा यहाँका स्थानीय तहले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन्।