• ६ वैशाख २०८२, शनिबार

खाद्य उद्योगलाई ५० हजार जरिवाना

blog

उपभोग्य मिति सकिएको सुजी जाँच गर्दै अनुगमन टोली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख ६ गते ।
झापामा स्थानीय तहहरुले बजार अनुगमन गर्दै लापरवाही गर्नेहरुलाई कारबाही गर्न सुरु गरेका छन् । यसै क्रममा मेचीनगर नगरपालिकाले  वडा नं. ९ स्थित पूजा फुड प्रोडक्सन उद्योगकलाई ५० हजार जरिवाना गराइएको छ ।

पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटिएपछि जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् स्थानीय उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार अनुगमन टोलीले अनुगमन गरेर उद्योगमा ताला लगाएको थियो ।

नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीका अनुसार शुक्रबार जरिवाना तिरेकाले आइतबार उद्योगमा लगाएको ताला खोलिनेछ । आगामी दिनमा यस्तो कार्य नगर्ने सहीछाप गराएर नगरपालिकाले लगाएको ताला खोलिदिने उहाँले बताउनुभयो । अनुगमन गरेर सचेत गराउँदामात्र अटेर हुन थालेपछि स्थानीय सरकारले आफ्नो अधिकारको प्रयोग गरेर कारबाही सुरु गरेको बताइएको छ ।