• १६ भदौ २०८१, आइतबार

संसार देख्ने आशा (बालकथा)

blog

मेरो विद्यालयमा म जस्ता दृष्टिविहीन दुई जना मात्र छौँ । हामीलाई अरु विद्यार्थीलाई जसरी नै सिकाइन्छ । मसँग मैले पढ्न सक्ने ब्रेल किताब छैन । मेरो सेतो छडी पनि छैन । बाआमाले किनिदिन सक्नु हुन्न । म कसरी ८ कक्षामा पुगेँ मलाई नै थाहा छैन । 

“सर, तपाईं हाम्रो किताबको लेखक हो ?” एउटा बालकले मेरो हात समाएर सोधे । “किन सोध्नुभयो बाबु ? हो म लेखक त हुँ तर तपाईं कुन कक्षामा पढ्नु हुन्छ ?” उनले मेरो उत्तर दिएनन्, केबल आँखा झिमझिम पारिरहे । मैले नियालेर हेरेँ, उनी दृष्टिविहीन रहेछन् । 

मैले फेरि सोधेँ, “किन बाबु, के सोध्न मन छ, भन्नुहोस् न । म लेखक नै हुँ । मलाई जे सोधे पनि हुन्छ । म तपाईं जस्तै बालबालिकाका लागि लेख्ने लेखक हुँ ।”

“मेरो साथीले भन्थ्यो लेखकहरूले मात्र हाम्रा कुरा बुझ्छन् । अरू कसैले हाम्रा कुरा बुझ्दैनन्” उनले आफ्नै लबजमा कुरा सुनाए ।

उनले एक वाक्य मात्र बोले तर उनको यस कुराले मलाई केही भावुक बनायो । म उनका छेउमा बसेँ । मसँग झोलामा केही दाना लिची थिएँ । उनलाई पनि दिएँ । मैले पनि खाएँ । हामी कुरा गर्न थाल्यौँ ।

मैले कुरा सुनिदिएकाले उनी खुसी भए । उनी आफ्ना कुरा सुनाउन थाले । म अहिले कक्षा ८ मा पढ्छु । मेरो विद्यालयमा म जस्ता दृष्टिविहीन दुई जना मात्र छौँ । हामीलाई अरू विद्यार्थीलाई जसरी नै सिकाइन्छ । मसँग मैले पढ्न सक्ने ब्रेल किताब छैन । मेरो सेतो छडी पनि छैन । बाआमाले किनिदिन सक्नु हुन्न । म कसरी ८ कक्षामा पुगेँ मलाई नै थाहा छैन । रेडियो, टेलिभिजनमा त धेरै हाम्रा बारेमा धेरै कुरा सुनिन्छ तर व्यवहार त 

त्योभन्दा निकै फरक छ । 

“अनि विद्यालयमा तपाईं जस्ता विद्यार्थीलाई सिकाउन छुट्टै शिक्षक र सिकाइ सामग्री छैनन् बाबु ?” मैले सोधेँ ।

“किन हुन्थ्यो ? हामी अपाङ्गता भएका मानिसको त कोही हुने रै’नछ । कक्षामा साथीहरू पनि मसँग कुरा गर्दैन । सरहरूले मेरो कुरा सुन्नु हुन्न । कक्षामा सधैँ म पछाडि बस्छु । मेरो बेन्चमा कोही बस्दैन । म पढ्न सक्दिनँ । किताबमा पढेर उत्तर लेख भनेको हुन्छ । मैले कसरी पढेर कसरी लेख्ने ? भन्न त म सक्थेँ नि । कसैले किताब पढेर सुनाइदिए त म बुझ्थेँ नि । सुन्ने किताब दिए त म सुन्न सक्थेँ नि । हामीलाई कसैले सिकाउनै चाहँदैन । खै कसले बुझ्छ हाम्रो यो कुरा ? तपाईंले बुझ्नु भयो त लेखकज्यू ?”

अब म बोल्न सकिनँ । आँखा चिम्लेर सोच्न थालेँ, “हाम्रो संविधानले अपाङ्गता भएका बालबालिकालाई निःशुल्क शिक्षा दिनु पर्छ भनेको छ । ऐन कानुनले विभेदको अन्त्य र समता तथा समानताको कुरा गरेको छ । विद्यालय बालबालिकालाई शिक्षा दिने ठाउँ हो । त्यहाँ म विभेदको कुरा कसरी कल्पना गरौँ ? अपाङ्गता कुनै अपराध होइन । संसारका प्रत्येक व्यक्तिलाई आझ्नो प्रतिभा देखाउने स्वतन्त्रता छ र त्यसलाई बाहिर निकाल्न सबैले सबैलाई सहयोग गर्नु पर्छ । अभिभावकले आफ्ना छोराछोरीका लागि त सोचेकै होलान् नि ? साथी भनेका त सहयोगी नै हुन् । 

विद्यालयमा के भयो र यी बालकले किन यसरी आफ्नो वेदना सुनाउनु प¥यो ?” म सोच्दै थिएँ, उनले नै मलाई झकझक्याउँदै भने, “लेखकज्यू, तपाईंले पनि मलाई बुझ्नुभएन । बुझेको भए बोलिहाल्नु हुन्थ्यो नि  ! आँखा नदेख्नेले मात्र अरूका कुरा सजिलै बुझ्छन् । तपाईं त आँखा देख्नु हुन्छ । आफ्ना कुरा अरूलाई सुनाउन छाडेर अरूका कुरा कसरी बुझ्नु हुन्थ्यो ! त्यसैले मलाई कुनै कक्षामा पढ्दै छु भन्न लाज लाग्छ । म मानिसको समाजमा बसेको छु भन्न पनि लाज लाग्छ । मलाई पढेर ठुलो मान्छे हुन्छु भन्ने रहर पनि छैन । किन भन्नु होला, तपाईंहरू कसैले म जस्ता मानिसलाई मानिसका रूपमा बुझ्नुभएकै छैन । तपाईंले बुझ्नु हुन्छ कि भन्ने अन्तिम आस थियो । मैले पनि तपाईंलाई देखेर मेरा कुरा भन्न पाएको भए म तपाईंको अनुहार पढ्थेँ । आज तपाईंलाई पनि पढ्न सकिनँ । मैले बाहिरी संसार देख्न पाएको भए .... । ”

म आँखा चिम्लेर उनका कुरा सुन्दै थिएँ । उनी एक्कासि बोल्न छाडे । मैले आँखा उघारेर हेरेँ । उनी खुट्टाले बाटो छाम्दै क्षितिजमा अस्ताउन लागेको घामझैँ बनेर टाढा पुगिसकेका थिए । 

   

मुना साउन २०८१

Author

डा. गणेशप्रसाद भट्टराई