• १२ असोज २०८१, शनिबार

एक महिने गुँला पर्व सुरु

blog

फाइल तस्बिर

काठमाडौँ, साउन २१ गते । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि सुरु भएको छ ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेष गरी नौ बाजा बजाउने प्रचलन छ ।

गुँला पर्व विशेष गरी बौद्ध मार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्ध मार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुलचोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागीहरू खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्व रहेको बताउँछन् ।  हरेक दिन अब एक महिनासम्म टोल टोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने गर्दछन् । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।  

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।