• १२ पुस २०८१, शुक्रबार

विद्यालयको असल अभ्यास

blog

विद्यार्थी जीवन निकै रमाइलो हुन्छ । पढाइको परिश्रम सँगसँगै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दा अझ कति रमाइलो हुन्छ है ? सबैलाई आफ्नो विद्यालय निकै सुन्दर लाग्छ । विद्यालयमा हुने गरेका सबै गतिविधि मन पर्छ ।     

कास्कीको भुर्जुङखोलाको माछापुच्छ«े माध्यमिक विद्यालयका कक्षा १० का साथीहरूसँग भेट भयो । उहाँहरू फरक फरक सेक्सनका भए पनि सँगै बसेर विद्यालयका बारेमा कुराकानी गर्ने अवसर मिल्यो । पुस्तकालयमा बसेर रमाइला कुराकानी ग¥यौँ । साथीहरूले सुनाउनुभएका कुरा मोबाइल फोनमा रेकर्ड गरेँ । विद्यालयका असल अभ्यासका बारेमा सबैले थाहा पाउनु पर्छ भनेर लेखेँ ।  साथी सन्तोष लम्साललाई शिक्षकले पढाइमा व्यस्त राख्ने गर्नुभएको निकै मन पर्ने रहेछ । शिक्षक र विद्यार्थी एउटै बेन्चमा बसेर नजानेका कुरा सिक्न पाउँदा राम्रो लाग्ने गरेको उहाँले सुनाउनुभयो । 

विद्यालयले कक्षा ८ देखि १० सम्मका कमजोर विद्यार्थीका लागि बिहान विद्यालय सुरु हुनुअघि र दिउँसो विद्यालय सकिएपछि एक घण्टा अतिरिक्त कक्षा सञ्चालन गरिदिने गरेको छ । त्यसका लागि विद्यालयले शुल्क लिँदैन । कक्षा १० का विद्यार्थी एसइईमा सहभागी हुन अब नौ महिना मात्र बाँकी छ । परीक्षा आउन अब थोरै समय बाँकी भएकोले पढ्ने बानीलाई विकास गर्न सक्यौँ त्यति नतिजा पनि राम्रो हुने बताउनुभयो । “पढाइमा बढी समय खर्च गर्नु पर्छ भने मोबाइल हेर्नमा कम समय खर्च गर्नु पर्छ” उहाँले भन्नुभयो ।

साथी सिर्जना बिसीले भित्ते पत्रिका तयार गर्ने चलन राम्रो भएको सुनाउनुभयो । हरेक कक्षालाई महिना तोकिएको हुन्छ । हरेक महिनाको अन्तिम शुक्रबार तोकिएको कक्षाले भित्ते पत्रिका टाँस्नुपर्ने नियम छ । त्यसको विमोचन गर्न वडाध्यक्ष नै विद्यालयमा आइपुग्नु हुन्छ । त्यस दिन विद्यालयमा झोला लैजानु पर्दैन । सिर्जनाले भित्ते पत्रिका विमोचनपछि आफूलाई मन पर्ने क्रियाकलापमा व्यस्त रहन पाइने बताउनुभयो । त्यस दिन आफ्नो जाति अनुसारको परम्परागत पोसाक लगाउन पाइने नियम छ ।

अर्का साथी सुदीप कुँवरलाई विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिएको पनि मन पर्छ । शिक्षकले विभिन्न बाजा, खेलकुद, चित्रकला सिकाउनुहुन्छ । उहाँ भलिबल पनि खेल्नुहुन्छ । विद्यालयमा विद्यार्थीलाई पञ्चैबाजा बजाउन पनि सिकाइने रहेछ । सुदीपले नजानेका पाठ्यपुस्तकका प्रश्नको उत्तर खोज्न कहिलेकाहीँ युट्युबमा अध्ययन सामग्री सर्च गर्न मोबाइल फोन प्रयोग गर्ने गरेको सुनाउनुभयो ।

साथी विशाल गुरुङले पढाइलाई बोझका रूपमा लिन नहुने धारणा राख्नुभयो । शिक्षकका घरमा ट्युसन पढ्न वा बजारमा कोचिङ कक्षामा पढ्न जाने चलन यस क्षेत्रमा रहेन छ । कक्षा १० का विद्यार्थीलाई साउनदेखि एसइई नसकिँदासम्म अपराह्न ५ देखि राति ९ बजेसम्म विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको छ । विशालले विद्यालयको पुस्तकालय प्रयोग गर्ने गर्नुभएको छ । विद्यालयले हरेक हप्ता एउटा पूरै पिरियड एउटा कक्षालाई पुस्तकालयमा अध्ययन गर्ने भनेरै छुट्याइदिने गरेको छ । 

साथी इसा गुरुङले रिडिङ क्लबका बारेमा सुनाउनुभयो । हरेक महिनाको अन्तिम शनिबार रिडिङ क्लबको बैठक हुने रहेछ । अमेरिकाबाट यो क्लबको बैठक जुममा सुरु हुन्छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने नियम छ । विद्यालयले तोकिएको अङ्ग्रेजी किताब विद्यार्थीलाई उपलब्ध गराउँछ । बैठकका दिन सो किताब पढेपछि आफूलाई कस्तो लाग्यो, के विषयको किताब हो आदि बारेमा भन्नुपर्ने रहेछ । इसालाई लामो छुट्टीमा किताब पढुन् भनेर विद्यालयले किताब उपलब्ध गराउने गरेको कुरा मन पर्छ ।

साथी आशिष बाँस्तोलाले जन्मदिन कोषका बारेमा रमाइलो कुरा सुनाउनुभयो । विद्यार्थीले आफ्नो जन्म दिनमा इच्छा अनुसार जन्मदिन कोषमा रकम उपलब्ध गराउने गरेका छन् । बिहान प्रार्थनाका बेला फलानोको जन्म दिन परेको र यति रकम उपलब्ध गराएको भनी माइकबाट सबैलाई जानकारी दिइन्छ । जन्म दिन परेका साथीलाई स्टेजमा बोलाएर टीका र खादा लगाइदिने चलन आफूलाई निकै राम्रो लागेको आशिषले सुनाउनुभयो । गत वर्ष जन्म दिनबाट सङ्कलन भएको रकमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई झोला, पोसाक प्रदान गरिएको थियो । यस वर्ष जन्म दिन परेका विद्यार्थीलाई एक वर्षभरि मुना पत्रिका निःशुल्कमा उपलब्ध गराउने भनी विद्यालयले गरेको घोषणा आशिषलाई निकै मन परेको छ ।

साथी अरुण तामाङ कक्षा ९ मा नेतृत्व विकासका बारेमा र कक्षा १० मा आजीविका परामर्शका बारेमा विद्यालयले जानकारी दिएकोमा खुसी हुनुहुन्छ । कहिलेकाहीँ कक्षाकोठामा शिक्षक अनुपस्थित हुँदा कक्षा ९ का विद्यार्थीलाई नै खाली कक्षामा पढाउनका लागि पठाउने चलन विद्यालयको रहेछ । एसइईपछि भविष्य बनाउनेतर्फ केन्द्रित हुनु पर्छ । अब कक्षा ११ मा कुन विषय लिएर पढ्ने भन्नेबारेमा विद्यालयले परामर्श दिने गरेको छ । बिहानी प्रार्थना सकिएपछि तोकिएको बारमा तोकिएको कक्षाले विद्यालय परिसर सरसफाइ गर्नुपर्ने नियम पनि अरुणलाई मन पर्ने रहेछ ।

साथी अञ्जु थापाले कतिपय कुरा नजान्दा शिक्षकले प्रोजेक्टरबाट भिडियो देखाएर सिकाइदिने चलन निकै मन परेको बताउनुभयो । “हामीलाई कुनै विषय गाह्रो लाग्यो भनेपछि शिक्षकले प्रोजेक्टरबाटै सिकाइदिनुहुन्छ । त्यसपछि सजिलै सिक्न सकिने रहेछ,” उहाँले सुनाउनुभयो । महिनावारी हुँदा विद्यालयले उपलब्ध गराउने प्याडमा खासै समस्या नभएको पनि उहाँले बताउनुभयो ।

अनि साथी सुप्रिया सेवाले प्रार्थनाका बेला हरेक दिन तीन/तीन जना विद्यार्थीको लुकेको प्रतिभा देखाउने चलन मन परेको सुनाउनुभयो । भोलि कसले प्रार्थनामा लुकेको प्रतिभा प्रस्तुत गर्नु पर्छ भनेर अगाडि नै थाहा हुन्छ र ती विद्यार्थीले तयारी गरेर विद्यालय पुग्छन् । कोही नाच्छन्, कोही गाउँछन्, कोही हसाउँछन् । त्यस्तै हरेक पाठ सकिएपछि परीक्षा लिने चलन पनि सुप्रियालाई मन परेको छ ।   


मुना साउन २०८१

Author

रमेश पौडेल