• १६ भदौ २०८१, आइतबार

चिटिक्क कक्षाकोठा

blog

मुनाको अघिल्लो अङ्कमा ‘मैले देखेको कक्षाकोठा’ भन्ने लेख प्रकाशित भएको थियो । दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित नौगडेश्वरी आधारभूत विद्यालयको लेख थियो । कक्षाकोठामा फोहोरको डङ्गुर थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखिएको थियो । शिक्षकहरू पढाउनुको सट्टा गफ गरेर बस्नुभएको थियो । मुनामा लेख छापिएको थाहा पाएपछि विद्यालयका प्रधानाध्यापक चन्द्रराम टमटाले केही फोटो ह्वाट्स एपमा पठाउनुभयो । गत वैशाख २३ गते हामी त्यो विद्यालयमा पुग्दाको भन्दा फरक दृश्य देखिन्थ्यो । कक्षाकोठालाई सफा पारिएको छ । पुरानै डेस्क बेन्च भए पनि अब मिलाएर राखिएको छ । अब बल्ल भुइँमा फोहोर देख्न पाइँदैन । मुसाको लिड पनि देखिएन । कार्पेट सफा पारिएको छ । अस्तव्यस्त रहेको प्रधानाध्यापकको कोठा पनि चिटिक्क पारिएको छ । 

“कक्षाकोठालाई कक्षाकोठा जस्तै राम्रो बनाएका छौँ । एक पटक फोटोमा हेर्नुहोस् त,” प्रधानाध्यापक टमटाले भन्नुभयो, “अबदेखि नियमित सफा गर्छौं । ज्ञानको मन्दिर बनाउँछौँ ।” भर्ना अभियान सकिएपछि सबै विद्यार्थीलाई आफ्नो कोठामा राखेर पढाउन थालिएको उहाँले बताउनुभयो । “नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै राखेर पढाउन थालेका छौँ । त्यतिबेला भर्नाको समय भएर एकै ठाउँमा राखिएको हो । अब त्यस्तो गर्दैनौँ,” उहाँले भन्नुभयो । कक्षाकोठामा विद्यार्थीलाई राख्न डेस्क बेन्चको अभाव रहेको उहाँले गुनासो गर्नुभयो । “सबैलाई डेस्क बेन्च पुग्दैन । विद्यार्थीलाई भुइँमा राख्नु पर्छ । कार्पेट छ तर सबैलाई पुग्दैन । भएका डेस्क बेन्च पनि काम नलाग्ने छन् । पालिकामा पनि भनेका छौँ । उपलब्ध गराइएको छैन,” प्रधानाध्यापक टमटाले भन्नुभयो ।  


मुना साउन २०८१ 

Author

दिनेश गौतम