• २ माघ २०८१, बुधबार

मध्यपूर्वमा बढ्दो तनावका बीच जोर्डनका विदेशमन्त्रीको इरानमा वार्ता

blog

जोर्डनका विदेशमन्त्री अयमान सफादी ।

काठमाडौँ, साउन २० गते । हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरान र इजरायलबीच तनाव बढ्ने आशङ्का बढ्दै गएपछि जोर्डनका विदेशमन्त्री अयमान सफादीले आइतबार इरानका अधिकारीहरूसँग वार्ता गर्नुभएको छ । 

इरानका राष्ट्रपति मसुद पेजेसकियानको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएका लडाकू समूह हमासका राजनीतिक प्रमुख हानियाको बुधबार बिहान तेहरानमा हत्या भएको थियो । 

इरान र तेहरानले समर्थन गरेको हमास लडाकूहरूले जवाफी कारबाही गर्ने वाचा गरेका छन् र हानियाको हत्याका लागि इजरायललाई दोष दिएका छन् । इजरायलले हत्याप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ । 

सफादीले दुर्लभ भ्रमणका क्रममा तेहरानमा ओर्लिएपछि कार्यवाहक विदेशमन्त्री अली बघेरीसँग ‘भेटघाट र परामर्श’ गर्नुभएको आइएसएनए समाचार एजेन्सीले बताएको छ । 

यसअघि आधिकारिक समाचार एजेन्सी आइआरएनएले सफादीले तेहरानमा आफ्नो भ्रमणका क्रममा ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा इरानी अधिकारीहरूसँग विचार आदान प्रदान गर्ने’ र बघेरीसँग भेटवार्ता गर्ने बताएको थियो । 

सफादीले ‘यस क्षेत्रको स्थिति र द्विपक्षीय सम्बन्ध’ मा इरानी राष्ट्रपतिलाई राजा अब्दुल्ला द्वितीयको सन्देश दिनुहुने जोर्डनको विदेश मन्त्रालयले बताएको छ ।

यसैबीच राजा अब्दुल्लालाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको फोन आएको र फोनमा ‘यस क्षेत्रको खतरनाक स्थितिलाई समेटेको’ अम्मानमा शाही अदालतले बताएको छ । 

‘राजाले व्यापक शान्तिमा पुग्न र द्वन्द्वको क्षेत्रीय विस्तार रोक्न थप अन्तर्राष्ट्रिय प्रयासहरू’ को अपिल गर्नुभएको एक विज्ञप्तिमा उल्लेख छ । 

हानियाको हत्यापछि इरानले जोर्डन, इजिप्ट, ओमान र कतारलगायत धेरै अरब मुलुकसँग वार्ता गरेको छ । तेहरानले बारम्बार इजरायलविरुद्ध कारबाही गर्ने आफ्नो ‘अन्तरनिहित अधिकार’ लाई दोहोर्याएको छ । 

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्नो मुलुक कुनै पनि परिदृश्यमा ‘रक्षात्मक र आक्रमण’ लागि तयारीको ‘धेरै उच्त स्तर’ मा रहेको बताउनुभएको छ । 

हानियाको हत्या मङ्गलबार राति इजरायलद्वारा तेहरान समर्थित लेबनानी हिजबुल्लाह लडाकू समूहका वरिष्ठ कमान्डर फुआद शुक्रको हत्या भएको केही घन्टापछि हानियाको हत्या भएको थियो । शुक्रलाई इजरायलले आफ्नो कब्जामा रहेको गोलान हाइट्समा भएको घातक रकेट आक्रमणको दोषी ठहर गरेको थियो । 

इरानको रिभोल्युसनरी गार्डले उत्तरी तेहरानमा आफ्नै आवासबाहिर प्रहार गरिएको ‘छोटो दूरीको प्रोजेक्टाइल’ मार्फत हानियाको मृत्यु भएको जनाएको छ । एपी/रासस