काठमाडौँ, साउन २० गते । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ ।
आइतबार भएको खेलमा भेनकुवर नेपालका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो । जितका टोरोन्टोले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय आठ रनमा समेटिएको थियो ।
भेनकुवरका लागि रिचि बेरिङ्टनले सर्वाधिक ५२ रन बनाउनुभयो । रिजा हेनरिक्सले १७, दीपेन्द्रले १३ र कप्तान उस्मान ख्वाजाले १० रन बनाउनुभयो । बलिङमा टोरोन्टोका रोमारियो शेफर्डले तीन विकेट लिनुभयो । मोहम्मद नवाजले दुई तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले एक एक विकेट लिनुभयो । यस खेलमा रोहितलाई आराम दिइएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय एक सय २७ रन बनाएको थियो । टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाउनुभयो । आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले १९/१९, मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोड्नुभयो ।
बलिङमा भेनकुवरका मोहम्मद आमिरले तीन विकेट लिनुभयो । रिशिभ जोशी र हर्ष ठाकरले दुई दुई तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले एक एक विकेट झार्नुभयो । भेनकुवरको अर्को खेल सोमबार र टोरोन्टोको मङ्गलबार छ ।