• १२ असोज २०८१, शनिबार

देश सुहाउँदो शिक्षा आवश्यक : महर्जन

blog

दीक्षित विद्यार्थीलाई सम्मान गर्नुहुँदै कीर्तिपुर माध्यामिक विद्यालयकी प्रधानाध्यापक सरला प्रधान ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २० गते । शिक्षा सेवा आयोगका सदस्य नन्दकुमारी महर्जनले देशको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।

उच्च शिक्षाका लागि विदेशमा गएर विद्यार्थी नफर्किने भएकाले देशको विकास र समृद्धि सोहीअनुसार हासिल गर्न नसकेको बताउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

कीर्तिपुरस्थित उज्ज्वल शिशु निकेतन एकेडेमीको एसइई दीक्षान्त तथा बिदाइ कार्यक्रममा उहाँले उच्च शिक्षा लिएर स्वदेशमा आएर नेपाली समाज र देशको विकास र प्रगतिमा हातेमालो गर्न आह्वान गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिवशरण महर्जनले रोजगारीको नाममा बिदेसिएका विद्यार्थीले भोग्नुपरेका समस्या र दक्ष मानवशक्ति स्वदेशमा कम हुँदा विकास निर्माण ढिलासुस्ती हुँदा नेपाल विकासमा पछि परेको बताउनुभयो ।


गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले ‘लर्न एण्ड अर्न’ मा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा दीक्षित विद्यार्थी सुविधा अधिकारी र कक्षा १० का छात्रा जोली नकर्मीले नेपाली शिक्षा पनि उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा सेवा आयोगकी सदस्य नन्दकुमार महर्जन, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र कीर्तिपुर माध्यामिक विद्यालयका प्रधानाध्यापक सरला प्रधानले ५५ जना विद्यार्थीहरुलाई सम्मान गर्नुभयो ।