• १२ असोज २०८१, शनिबार

किताब जात्रा सुरु

किताबमा भन्सार शुल्क नलिइने : अर्थमन्त्री

blog

काठमाडौँ, साउन १९ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर र १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयलाई मन्त्रीपरिषद्ले फिर्ता लिने निर्णय भइसकेको बताउनुभएको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले किताब जात्राको छैँटौँ संस्करणको शुक्रबार राजधानीमा शुभारम्भ गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले किताब जात्राको माध्यमबाट चेतना र सद्भावको विकास गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “यो सरकारले गर्नुपर्ने कामको एक अङ्ग पनि हो ।” उहाँले किताब महोत्सवले ज्ञानको दयारा फराकिलो पार्नुका साथै बौद्धिक स्तर पनि बढाउने काम गर्ने चर्चा गर्नुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पढाइ सिपसँग जोडेर मात्रै हेरिने समाजमा किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउन सहयोग पुग्ने बताउनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ । सो अवसरमा कवि विप्लव प्रतीकलाई ‘प्रेम साहित्य सम्मान २०८१’ प्रदान गरिएको थियो । प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । यस वर्षको बेस्ट सेलरका रूपमा इजोरिया उपन्यासका लेखक सुविन भट्टराईलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

जनयुद्ध बहस

‘जनयुद्धमा अक्षर’ शीर्षकको बहसमा लेखक मनऋषि धितालले जेल अनुभव सुनाउनुभएको थियो । उहाँले जनयुद्धलाई तीन भागमा बाँडिएको सन्दर्भ जोड्दै जनयुद्ध अन्त्य भइनसकेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार जनयुद्धका कथा लेखिने क्रम कम भएको छ र समाजका निम्न कथाहरू आउन भने खासै सकेको छैन ।

लेखिका सङ्गीता खड्काले जनयुद्धलाई आफ्नो लेखनको अनुभव राख्दै जनयुद्धले पारेको प्रभाव र जनयुद्धबाट आएको परिवर्तनका बारेमा चर्चा गर्नुभयो । खड्काले  जनयुद्धमाथि बोल्न सकिने कुरा अझै धेरै बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार महिला, समावेशी, दलित, संविधान र समाज रूपान्तरणका लागि जनयुद्धले धेरै ठुलो भूमिका खेलेको छ । यो परिवर्तन पर्याप्त चाहिँ हुन सकेन । अक्षर यात्राले जनयुद्धलाई कति समेटेको छ भन्ने प्रश्नमा लेखक नरेन्द्रजङ्ग पिटरले जनयुद्धको इतिहासलाई बिर्सिने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले पनि विस्तारै छोड्दै गरेको अवस्था हो ।” 

नेपाली साहित्यले जनयुद्धमाथि धेरै लेखियो भनेर कराइरहेको आरोपसमेत लगाए । उहाँले भन्नुभयो, “जनयुद्धलाई सही अर्थमा भन्ने हो भने निम्न वर्गका लागि कामै हुन सकेन । लेखक र पत्रकारले जे जति लेखे त्यो पर्याप्त छैन ।” जनयुद्धले अक्षर कर्मलाई न्याय गरेनन् भन्ने तर्क राख्दै कार्यक्रमका मध्यस्थकर्ता इन्द्रराज भट्टराईले फ्लोरबाट प्रश्न लिनुभएको थियो ।

‘जीवन सुन्दर छ’ सार्वजनिक

नेपाली सेनाका पूर्वउपरथी डाक्टर रमीन्द्र क्षेत्रीको जीवनीपरक पुस्तक ‘जीवन सुन्दर छ’ सार्वजनिक गरिएको छ । किताब जात्राकै क्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्मा, टीकाराम यात्री, रामचन्द्र फुयाँल र लेखक क्षेत्रीले पुस्तक सार्वजनिक गर्नुभएको हो । प्रधानसेनापति शर्माले सार्वजनिक किताबले सहनशील हुन सिकाउने र पुस्तक सबै पुस्ताका पाठकलाई मन छुन सक्ने बताउनुभयो ।

पुस्तकलाई यात्रा पब्लिकेसनले बजारमा ल्याएको हो । महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टार्टिङ अप विथ स्टार्ट अप्स् शीर्षक समूहमा छलफल हुने जनाइएको छ ।

नेपाली साहित्यमा समीक्षकको उपस्थिति, मूलधारबाट सधैँ उपेक्षामा कला, हास्य विधाः शक्ति र चुनौती, सञ्चारका सारथिलगायतका विषयमा छलफल हुने जनाइएको छ । दर्जनभन्दा बढी किताबका स्टलसँगै कलाका अन्य स्टलले महोत्सवलाई आकर्षक बनाएको छ ।