• १२ असोज २०८१, शनिबार

सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

blog

काठमाडौँ, साउन १७ गते । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बिच भएको विस्तृत शान्ति सम्झौताअनुरूप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबिच समझदारी भएको छ । 

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा निकै महत्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन चारबुँदे सहमति भएको कार्यदलका सदस्य एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।

“मुलभूतरुपमा सहमति जुट्न नसकेका चार विषयमा घनिभूत रूपमा छलफल गरी सहमतिका साथ टुङ्गो लगाइएका छौँ”, उहाँले भन्नुभयो । कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारीरुपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ । 

यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरूपको दण्डमासजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ । संयन्त्रमा भएको सहमतिसहितको प्रतिवेदन तीनवटै पार्टीका शीर्ष नेतालाई बुझाइने छ । “संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यसलाई अपनत्व लिएर अघि बढाउनेछ”, कार्यदल सदस्य शर्माले भन्नुभयो, “कार्यदलमा सहमति हुनु ठुलो कुरा हो ।”

यो पनि पढ्नुहोस

सङ्क्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति

गृहमन्त्री एवम् कार्यदलका सदस्य रमेश लेखकले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा दलहरूबिच सहमति जुटेसँगै सबै कुरा मिलेको प्रतिक्रिया दिनुभयो । “आज उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी सबै कुरा मिलेका छन्”, उहाँले भन्नुभयो । एमालेका मुख्य सचेतक एवम् कार्यदल सदस्य महेश बर्तौलाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुनी उल्झनलाई समाप्त गरेर जाने ठाउँमा पुगिएको प्रतिक्रिया दिनुभयो । “यो अत्यन्त सकारात्मक विषय हो । कसैले हार्ने जित्ने भन्दापनि सिङ्गो देशले जित्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ध्येयका साथ काम गरेका छौँ”, उहाँले भन्नुभयो । 

मुख्य सचेतक बर्तौलाले सङ्क्रमणकालीन न्यायको सिद्धान्त तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल गरेर पीडितलाई केन्द्र राखी समझदारी जुटाएको बताउनुभयो । “सर्वोच्च अदालतबाट भएका फैसलाको परिधिभित्र रहेर तथा अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी सहमति भएका छन्”, उहाँले भन्नुभयो । कार्यदलका अर्का सदस्य शर्माले पीडितलाई सम्बोधन गर्न पाउने वातावरण बनेको र पीडितको मागसहित यस विषयलाई टुङ्ग्याइएको बताउनुभयो । 

“पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने काम थाँती थियो, त्यो काम सम्पन्न गर्न कानुन निर्माण गर्न सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “अब प्रक्रियामार्फत सदन हुँदै अघि बढ्ने छ ।” सदस्य शर्माले पीडितहरूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन राजनीतिक दलहरूले आफूहरूबिचमा छलफल गरेर असहमतिका बिच पनि सहमति गर्न सक्छन् भनी विश्व समुदायमा सन्देश दिन सफल भएको उहाँको भनाइ छ । 

एमाले मुख्य सचेतक बर्तौलले पीडित र पीडकबिच अन्तरघुलन गराएर नयाँ द्वन्द्व नहुने सुनिश्चितता गराइने विश्वास दिलाउनुभयो । “पीडितले न्याय पाउने र पीडकलाई कानुनी दायरामा ल्याएर सजायको तहमा पुर्‍याइनेछ”, उहाँले भन्नुभयो । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा आज भएको समझदारीलाई सशस्त्र द्वन्द्वका घाउमा मलम लगाउने प्रयासमा ‘ब्रेक थ्रु’का रूपमा हेरिएको छ । 

वि.सं.२०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनः स्थापन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी काम गरिरहेको छ । पीडित केन्द्रित कानुन निर्माण गरेर सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन न्यायालयले पनि आदेश दिएको थियो । रासस