• १२ असोज २०८१, शनिबार

खेलकुद पत्रकार मञ्चमा सुवेदी निर्वाचित

blog

मञ्चका निर्वाचित पदाधिकारीहरु । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २१ गते । नेपाली खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित हुनुभएको छ । मञ्चको बुधबार काठमाडौँमा सम्पन्न चुनावी साधारणसभामा अध्यक्ष सुवेदीले ५९ मत ल्याउनु भयो । अध्यक्षका अर्का प्रत्यासी प्रकाश तिमल्सेनाले ३३ मत प्राप्त गर्नुभएको थियो । सुवेदी अघिल्लो कार्यकालको पनि अध्यक्ष हुनुहुन्थ्यो । 

यसैगरी प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र  गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । तीन बर्षे कार्यकालका लागि भएको खुला सदस्य पदमा अनिल मल्ल ठकुरी, निशाल राई र कुशल तिमल्सिना निर्वाचित हुनुभएको छ । महिला सदस्यमा मुना कार्की निर्वाचित हुनुभयो । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गर्नुभएको थियो । सदस्य पदका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाउनुभयो । 

महिला सदस्यमा विजयी मुनाले ६२ र अर्का प्रत्यासित लक्ष्मी जिसीले ३१ मत प्राप्त गर्नुभएको थियो । कूल एक सय सदस्य रहेको निर्वाचनमा ९४ मत खसेको थियो । निर्वाचनअघि भएको साधारणसभाको उद्घाटन सत्रमा संघीय संसद् एवं नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शुभकामना दिनुभएको थियो ।