• १२ असोज २०८१, शनिबार

नेपालगन्ज डुबानमा, पस्यो घर पसलमा बाढी

blog

अत्यधिक वर्षापछि जलमग्न भएको ईदगाह रोड । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १६ गते । बुधवार बिहानदेखि परेको वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएको छ । बिहानैदेखि निरन्तर परेको वर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर सामान क्षति गरेको हो ।  

वर्षाले उपमहानगरका अधिकांश भागमा पानी जमेपछि दर्जनौँ घरमा पानी पसेर डुबान भएको स्थानीयले पीडा सुनाएका छन् । नगरको ईदगाह रोड, घरबारी टोल, न्यूरोडको सेतुविक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिपी चोक, गुरुद्वारा रोड, बिलासपुर, कोरियनपुर र भृकुटीनगर तथा वडा २०, १४, २२ र २३ का धेरै क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु जलमग्न भएका छन् । 

इदगाहरोड, घरबारी टोल, न्यूरोड र एकलैनीका अधिकांश पसल र घरमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् । अत्यधिक बर्षाले धेरैको घर र पसलमा पानी पसेर बेहाल बनाएको इदगाह रोड वडा –११ का जावेद सिद्दिकीले बताउनुभयो । 

उहाँले आफ्नो घर र पसलमा पानी पसेर क्षति भएको जनाउँदै छिमेकका धेरै घरमा पानी पसेर बस्न नसक्ने अवस्था आएको बताउनुभयो । इदगाहरोड, फलमन्डी र सुनार मण्डीनजिक क्षेत्रमा सयभन्दा बढी घर पसलमा पानी भरिएको वडा ११ का अर्का स्थानीय रमजान राईले बताउनुभयो । 

यस्तै, सुर्खेतरोड, न्यूरोड र अन्य स्थानमा पानी जमेर डुबान भएको स्थानीयको भनाइ छ । उपमहानगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीयलाई आवागमनमा कठिन भएको छ । धेरै वडाको सडकमा आवागमनमा समस्या भएको न्यूरोडका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

वडा १४ का अधिकांश बस्तीहरु डुबानमा परेपछि स्थानीयलाई समस्याको सामना गर्नुपरेको र धेरैको सामान सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मजहर शेषले जनाउनुभयो । 

सोही प्रकार वडा २० मनिकापुर क्षेत्रमा पनि घरमा पानी छिरेर स्थानीयकाे विचल्ली भएको मनिकापुरका स्थानीय राम श्रेष्ठले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले पानी निकासको व्यवस्था गरिएको र नालाहरु पनि सफा गरिएको दाबी गर्दै ठुलो वर्षा भएकाले पानी निकासमा समस्या भएको बताउनुभयो । 

नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले सोचेभन्दा धेरै पानी परेकाले निकासले थेग्न नसक्दा सहरका धेरै ठाउँमा पानी जमेर डुबान भएको जनाउँदै पानी जमेका स्थानमा कर्मचारी खटाएर पानीको निकासको व्यवस्था मिलाउने काम भइरहेको बताउनुभयो ।