• १२ असोज २०८१, शनिबार

रासस र चाइना मिडिया ग्रुपबिच सहकार्यबारे छलफल

blog

तस्बिर : रासस

काठमाडौँ, साउन १६ गते । राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बिच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदानप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया-प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबिच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । 

उहाँहरुबिच दुई देशबिचका समाचार संस्थाबिच तालिम आदानप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो । सो अवसरमा कार्यकारी अध्यक्ष झाले दुई मुलुकका समाचार संस्थाबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबिच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । 

छ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चाइना मिडिया ग्रुपबीचको सहकार्यले समाचार सेवा आदानप्रदान मात्र नभइ दुई मुलुकको जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने उहाँको विश्वास छ । “समाचार सहकार्यको सम्बन्ध सधैँ कायम रहिरहनुपर्छ, हामी निरन्तर सहकार्यको पक्षमा छौँ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “एक वर्षअघि चीनको ग्वान्जाओमा भएको ‘वर्ल्ड मिडिया समिट’ मा म सहभागी भएको थिएँ, हालै राससका प्रधानसम्पादक उत्तम सिल्वालले चीन सरकारको निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभएको थियो, भ्रमण आदानप्रदानले एकअर्कालाई, चिन्न, समस्या बुझ्न र समाधान पहिल्याउनका साथै दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ गर्न वातावरण निर्माण गर्नेछ ।”

दुई देशका पत्रकारबिचको सम्बन्ध जति बढी सुदृढ र घनिष्ठ हुन्छ, जनस्तरको सम्बन्ध पनि त्यत्तिनै कसिलो हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले दुई मुलुकबिचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । द्विपक्षीय भ्रमण आदानप्रदानलाई आगामी दिनमा निरन्तरता दिई सहकार्यको सम्भावना खोज्नुपर्ने उहाँको भनाइ थियो ।

चाइना मिडिया ग्रुपका एसिया-प्रशान्त निर्देशक छाओ यीले दुई मुलुकका समाचार संस्थाबिच प्रविधि हस्तान्तरण, तालिम आदानप्रदान जस्ता कार्यमा सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले समाचार सेवा आदानप्रदानका साथै दुई देशीब्चको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले दुई संस्थाहरुबिच सहकार्यको सम्झौता गरेर अगाडि बढ्न मिडिया ग्रुपले प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक यीले सांस्कृतिक सम्पदा र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण काठमाडौँ बसाइँ र यहाँका जनताको आतिथ्यताबाट आफू प्रफुल्लित भएको बताउनुभयो । 

निर्देशक यीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको बेइजिङमा सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व सम्बन्ध खुला र विस्तार गर्ने तथा आधुनिक विकासमा सहकार्य गर्ने निर्णय गरेबमोजिम मिडिया ग्रुपले सम्बद्ध मुलुकबिच सहयोग आदनप्रदानका साथै एक अर्काबाट पाठ सिकेर अगाडि बढ्ने रणनीति लिएको स्पष्ट पर्नुभयो । हङ्कङमा मुख्यालय रहेको चाइना मिडिया ग्रुपका एसिया-प्रसान्त निर्देशक यीले एयिसा-प्रशान्त क्षेत्रका ४१ मुलुकसँग सहकार्य अघि बढाउने जिम्मेवारी पाउनभएको छ । चाइना मिडिया ग्रुप छ वर्षअघि चीनका विभिन्न सञ्चार माध्यम गाभिएर बनेको समाचार संस्था हो । रासस