• १२ असोज २०८१, शनिबार

बेनीघाट-आरुघाट सडक तीन सातादेखि अवरुद्ध

blog

भीमसेन थापा गाउँपालिका र सहिदलखन गाउँपालिका जोड्ने ज्यादुल खोला पुल ।

गुणबहादुर रोका 

सुलीकोट, साउन १६ गते । गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड तीन सातादेखि अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । गत असार २८ गते परेको अविरल वर्षाले भीमसेन थापा गाउँपालिका–५ र सहिद लखन गाउँपालिका–९ बुङकोट जोड्ने ज्यादुरखोलामा मोटेरबेल पुलको दुई साइड बाढीले बगाउँदा आवतजावतमा समस्या भएको हो । 

बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडकको रूपमा रहेको ज्यादुल खोलामा २१ दिनदेखि पुल मर्मत हुन नसक्दा दैनिक चल्ने सवारीसाधन तथा नागरीहरूमा प्रत्यक्ष प्रभाबारेको भीमसेन थापा गाउँपालिकाका–७ का स्थानीयवासी जीवन कुमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार दैनिक जसो हजारौँ नागरिकहरू सवारीसाधनबाट त्यही पुलको बाटो भएर गोरखको आरुघाट, भीमसेन थापा गाउँपालिका, चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका नागरिकहरू गोरखा, काठमाडौँ, चितवन र पोखरा यात्रा गर्न पैदल यात्रा गरी गोरखा सदरमुकामबाट मात्र सवारी साधनहरू चढ्नु पर्ने बाध्य रहेको उहाँले बताउनुभयो । 

गत वर्ष भीमसेन थापा गाउँपालिकाको ३५ लाख बजेट विनियोजनबाट निर्माण सम्पन्न भएको ज्यादुल खोला मोटरेबल पुल गत असार २८ गते देखि परेको अविरल वर्षाका कारण बाढीले क्षत विक्षत अवस्थामा पुर्‍याएको तथा ज्यादुल खोलमा ठुला ठुला खाल्डा सहित निरन्तर वर्षा भइरहेकाले पनि मर्मत कार्य गर्न ढिला भएको भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । 

बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडक भएकाले तत्कालका लागि अस्थायी संरचना बनाएर पनि पुलको दुवै साइडलाई पुलसम्म जोडेर ग्याबिन तार हालेर सडक खुलाउन तथा नागरिकहरूको सहज यात्राको लागि बर्षात रोकिने बित्तिकै काम सुरु गर्ने गाउँपालिकाले जनाएको छ । त्यस सडक खण्ड समयमै नबन्दा सयौँ नागरिकहरू सडक यात्राबाट वञ्चित भएका छन् ।