• १२ असोज २०८१, शनिबार

राष्ट्रिय विद्युत् प्रसारण लाइनमा थपिए साढे चार हजार घरधुरी

blog

सिन्धुली समाचारदाता

मरिण (सिन्धुली), साउन १६ गते । मरिण गाउँपालिका–२, सिन्दुरे दोभानका नरबहादुर अस्थानीले विगत १० महिनादेखि आफ्नो घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत असोजमा उक्त गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएसँगै आफ्नो घर बिजुलीले झलमल्ल भएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “साँझमा धिप धिप बल्ने सोलार बत्ती थियो । त्यही पनि कहिलेकाहीँ मौसम खराब हुँदा नबलेर टुकी बाल्नुपर्ने बाध्यता थियो । त्यो समस्याबाट बल्ल मुक्ति पाइएको छ ।” यतिखेर मरिण गाउँपालिका–२ को रातमाटा, सिन्दुरे दोभान, सिँजाली डाँडा, राजवृक्ष, जल्केनीलगायत आधा दर्जनभन्दा बढी गाउँका २९० घरधुरी राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीले झलमल्ल भएको स्थानीय बताउँछन् ।

त्यस्तै तीनपाटन गाउँपालिका–७, तोस्रामखोला निवासी पूर्णबहादुर मगरले पनि विगत आठ महिनादेखि राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत मङ्सिरमा उक्त वडा राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएपछि आफूले त्यो सुविधा पाएको उहाँले बताउनुभयो । दुई नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तहमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे चार हजारभन्दा बढी अर्थात् चार हजार ६९७ नयाँ घरधुरी राष्ट्रिय विद्युत् प्रसारण लाइनमा थपिएको नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रले जनाएको छ । 

गत आव २०८०/८१ को असार मसान्तसम्म जिल्लामा कुल ग्राहक सङ्ख्या ५८ हजार ५४९ रहेकामा तीमध्ये चार हजार ६९७ नयाँ ग्राहक सङ्ख्या रहेको केन्द्रका सूचना अधिकारी तथा इन्जिनियर शत्रुघ्न साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न भागमा भइरहेको राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारसँगै नयाँ ग्राहक थपिएका हुन् । हालसम्म जिल्लाको ९५ प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ ।”

“जिल्लाका सबै स्थानीय तहमा गरी अब करिब पाँच प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुग्न बाँकी छ,” उहाँले भन्नुभयो, “कुनै प्राविधिक समस्या नआए चालु आवभित्र बाँकी ती घरधुरीमा पनि बिजुली पु¥याई पूरै जिल्लालाई नै योजना बनाउने लक्ष्य छ । सबै पालिकामा गरी कतै कतै फाट्टफुट्ट घरमा बिजुली पुग्न मात्रै बाँकी छ ।” गत आवमा विद्युत् लाइन विस्तारका लागि सिन्धुली वितरण केन्द्र अन्तर्गत कमलामाई नगरपालिका, दुधौली नगरपालिका साथै तीनपाटन, गोलन्जोर, मरिण, सुनकोशी गाउँपालिकामा चार करोड रुपियाँको मात्रै ज्यालाको ठेक्का लागेर काम भएको थियो । जिल्लाका विभिन्न ठाउँमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रले आफैँले केन्द्रीय योजना अन्तर्गत ठेक्का लगाएर काम गरिरहेको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विद्युत् विस्तार गर्न गत आवमा गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिका–१२, १३ र १४ मा केन्द्रीय योजना अन्तर्गत छुट्टै ६५ करोड रुपियाँको दुईबर्से प्रोजेक्ट परेर काम भइसकेको छ । घ्याङ्लेख र फिक्कल गाउँपालिकाबाहेक अन्य पालिकाका बाँकी भागमा विद्युत् विस्तार गर्न उक्त केन्द्रलाई २८ करोड पाँच लाख रुपियाँ बजेट प्राप्त भई काम भइरहेको छ । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीबत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुलीबत्ती पु-याउने लक्ष्यसहित धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैङ्कको सहयोगमा पालिकामा विद्युत् लाइन विस्तारको काम भइरहेको छ । बिजुलीबत्ती बाल्न पाइने खुसियालीमा पोल बोक्ने, गाड्ने र तार टाँग्ने कार्यमा स्थानीयले श्रमदानसमेत गरेका उहाँको भनाइ छ ।