• ७ पुस २०८१, आइतबार

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग

blog

नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभा बैठकमा बोल्नहुँदै ।

काठमाडौँ, साउन १५ गते । नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नहुँदै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानबिनको माग गर्नुभएको हो । उहाँले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानविनबाट दोषी वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यस सम्बन्धमा सभामुखको धारणा माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘मानव तस्करीको गम्भीर आरोप उपसभामुखलाई लागेको छ, आरोप लाग्दैमा त्यो सही हो पनि म भन्दिनँ । तर अत्यन्तै गम्भीर विषय के हो भनेदेखि यस्तो जिम्मेवार पदमा बसेको मान्छेमाथि यस्तो गम्भीर आरोप लाग्दा उहाँ दोषी होइन भन्ने कुनै निकायको छानबिनमार्फत निर्दोष छानबिन हुन उहाँको हक छ कि छैन ? यो सम्बन्धमा संसद्को नेतृत्व गर्ने सभामुखको धारणा के हो ? म उहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’’