• ११ पुस २०८१, बिहिबार

बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा कमी

blog

चालकहरुलाई जम्मा गरेर ट्राफिक नियम बारे जानकारी गराउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १५ गते । पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ । 

यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजार भन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार ९१३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । ती सवारी साधनहरूलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रुपियाँ जरिवाना असुल गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताउनुभयो । उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रुपियाँ जरिवाना असुल गरेको थियो ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा दैनिक रूपमा ट्राफिक नियम सम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको र नियमित चेकजाँचको कार्य गर्दै आएकोले ट्राफिक नियम उल्लङ्घनका घटनाहरूमा उल्लेखनीय रूपमा कमी आएको बाँकेका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुवेदीको भनाइ छ । उहाँले विशेषगरी महेन्द्र राजमार्ग, रत्नराजमार्ग, नेपालगन्ज कोहलपुर सडकखण्ड र जिल्लाका अन्य विभिन्न स्थानमा दैनिकसजो ट्राफिक सचेतनाका कार्यक्रमहरू गर्दै आएको बताउनुभयो । 

सो क्रममा विभिन्न सवारी साधनका चालकहरूलाई रोकेर भेला गरी ट्राफिक नियमका बारेमा जानकारी गराई ट्राफिक नियम उल्लङ्घन नगर्न आग्रह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।