• १२ पुस २०८१, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिनुहुँदै ।

काठमाडौँ, साउन १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गर्नुभएको प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बिमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारमा सहज बनाउनका लागि नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाइ छ ।

‘‘अहिलेकै नीति, नियमभित्र बिमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बिमासम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरु थप पक्षलाई कसरी जोड्न सकिन्छ ? त्यसको निम्ति गृहकार्य भइरहेको छ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘बिमा समिति, मन्त्रालयले यसका बारेमा छलफल गरिरहेको र आवश्यकता अनुसार यसको बारेमा के गर्न सकिन्छ ? आम नागरिकलाई बिमाबाट उपचार गराउनका लागि सहजीकरण कसरी गर्न सकिन्छ ? त्यसको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ ? र सम्पूर्ण नागरिकले यसबाट कसरी लाभ लिन सक्छन् ? भन्ने बारेमा अध्ययन गर्न निम्ति समिति बनाउने सन्दर्भमा पनि हाम्रो छलफल भइरहेको छ ।’’

मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागिपरेको बताउनुभयो ।