• १३ साउन २०८१, आइतबार

माओवादीले पाएन प्रमुख

blog

काठमाडौँ, वैशाख २१ गते । स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेन । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । 

सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको छ । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीका एकल उम्मेदवार छन् । तारकेश्वर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धन गरे पनि प्रमुख पद पाएको छैन ।

१० पालिकामध्ये कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँग्रेससँग गठबन्धन गरी उपप्रमुखमा उम्मेदवार दिएको छ । नेकपा एकीकृत समाजवादीसँग तारकेश्वर र गोकर्णेश्वर नगरपालिकामा गठबन्धन भएको छ । यी दुई नगरपालिकामा प्रमुख पद समाजवादीलाई दिएर धेरै वडामा माओवादीले उम्मेदवारी दिएको माओवादी केन्द्र काठमाडौँ जिल्ला इन्चार्ज हिमाल शर्माले जानकारी दिनुभयो । चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा माओवादीले वडाध्यक्षमा चित्त बुझाएको छ । उहाँले गठबन्धनका नाममा काठमाडौँका स्थानीय तहमा माओवादीलाई उपेक्षा गरिएको बताउँदै भन्नुभयो, “गठबन्धन माओवादीलाई त्यति फलदायी छैन । काठमाडौँको हकमा त राम्रो सम्भावना भएका नगरपालिकामा छाड्नुपरेको छ । चन्द्रागिरिमा हाम्रो राम्रो पकड क्षेत्र हो तर छाड्नुप-यो ।” 

माओवादीले शङ्करापुरमा मधु केसी, बूढानीलकण्ठमा डम्बर अधिकारी, टोखामा शेखर श्रेष्ठ र नागार्जुन नगरपालिकामा सरस्वती सुनारलाई प्रमुखमा उठाएको छ । तर, काठमाडौँ महानगरमा आफ्नो हैसियत नै देखाउन नपाइएको नेताहरूको गुनासो छ । 

ललितपुरको एक महानगर र दुई नगरपालिकामध्ये गोदावरी नगरपालिकामा माओवादी प्रमुख पदको उम्मेदवारी पाएको छैन । माओवादीले नेपाली काँग्रेससँग गठबन्धन गरे पनि प्रमुख र उपप्रमुख दुवै पद काँग्रेसले लिएको छ । महालक्ष्मी नगरपालिकामा भने गठबन्धनबाट माओवादीले प्रमुख पदको उम्मेदवारी पाएको छ । 

Author

लक्ष्मण दर्नाल