• १६ भदौ २०८१, आइतबार

निर्वाचनमा मत माग्दै खेतबारीमा उम्मेदवार

blog

मीना कँडेल

कावासोती, वैशाख २१ गते । स्थानीय निर्वाचन आउन अब नौ दिन मात्र बाँकी छ । चुनावी माहोलमा होमिएका उम्मेदवार भोट माग्न घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कसरी आफू र आफ्नो पार्टीलाई विजयी गराउन सकिन्छ भन्नेतिर लागिरहेका छन् ।

तर कृषकलाई भने आफ्नै खेतबारीमा काम गर्दा फुर्सद छैन । खेतमा अहिले मकै छ । मकै गोड्न किसान खेतमा व्यस्त छन् ।किसानलाई खेतमा लगाएको मकै कसरी सपार्ने चिन्ता छ । यता स्थानीय तहको चुनावको दौडमा भाग लिएका उम्मेदवारलाई मतदाता कसरी रिझाउने भन्ने चिन्ता छ ।

जिल्लाका अधिकांश ठाउँमा किसान मकै गोडमेल र खाली रहेको खेतबारीमा मल बोक्न व्यस्त छन् । उनीहरूलाई चुनावको कुनै मतलव छैन् । वर्षभरि खाने अन्नबाली लगाउन र त्यसलाई सपार्न लागिपरेका किसानकै खेतबारीमा उम्मेदवाहरू मत माग्न र उनीहरूसँग भेटघाट गर्न पुग्ने गरेका छन् ।

उम्मेदवार अहिले घरघरमा होइन खेतखेतमा गएर मतदाता भेट्दै छन् । घरका परिवार बिहानदेखि साँझसम्म खेतमा नै हुने भएका कारण उम्मेदवारहरू खेतमै पुगेर मत माग्ने गरेका छन । स्थानीय चुनावमा होमिएका उम्मेदवारहरू आफ्नो पक्षमा कसरी मत पोल्टामा पार्ने भन्ने अभियानमा छन् । उनीहरू अहिले मददाता रिझाउन हरहालमा लागि परेका छन । 

मतदातासँग नम्र, मीठो बोली र मतदातालाई सहज होस् भनी मतदाता काम गर्दै गरेको स्थानसम्म पनि मत माग्न पुगेको देखिन्छ । नवलपुरको गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दुलगायतका नगरपालिकामा यस्तै दृश्य देखियो । नगरप्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष र सदस्य सबै मत माग्दै जाँदा मतदाता घरमा नभेटेपछि उनीहरू खेतमै पुगेर मत माग्न भ्याए । उम्मेदवारहरू आफू कुन पदका लागि चुनावमा लागेको र कसरी मतदान गर्ने भन्नेबारे जानकारी खेतमै गएर दिए ।

अहिले उम्मेदवारहरूलाई मनोवैज्ञानिक रूपले कसरी रिझाउन सकिन्छ भन्नेमा बढी केन्द्रित छन् उनीहरू मतदाताहरूको मनमा आफ्ना उम्मेदवारहरूको नाम कसरी स्मरणयोग्य बनाउन सकिन्छ भन्ने चेष्टामा छन् । योसँगै उम्मेदवारहरू आफूभन्दा वृद्धवृद्धासँग आशीर्वाद लिनेदेखि मतदाताको मन जित्न हर कोसिस गरिरहेका छन् ।