• १२ साउन २०८१, शनिबार

यो देश कहाँ पाऊँला (कविता)

blog

घामको चुल्ठो बाटेर

चन्द्रमा शिरफूल लाऊँला

खोजेर सारा धरतीमा 

यो देश कहाँ पाऊँला 


पुर्खाको नासो सम्झेर

मायाले छातीमा टाँसेर

तिम्रो र मेरो रगतले

साइनोको नाता गाँसेर


वनफूलको कुरा धेरै भो

मनफूलको डाली फुलाऔँ 

सेताम्मे हिउँ सिँचेर

फाँटमा बाली झुलाऔँ 


जुरुक्क उठेर पाखुरी

समृद्धि छरौँ सर्वत्र

बैरीका सामु जुटेर

देखाऊँ आफ्नो बर्कत


हाँसेका दन्त लहर

देशको नक्सा भै खुलोस्

डाँफे र मुजुर नबिसौँ

सर्वत्र नेपाली मन डुलोस् ।