• १३ साउन २०८१, आइतबार

फरार व्यक्तिबाट ८५ लाख जरिवाना असुल

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ५ गते । जिल्ला अदालत म्याग्दीबाट विभिन्न समयमा फैसला भएका मुद्दाका फरार २६ जनालाई गिरफ्तार गरी झण्डै ८५ लाख रुपियाँ जारीवाना असुल गरिएको छ ।

जिल्ला अदालतबाट फैसला भएको र कार्यान्वयन गर्न बाँकी रहेकामध्ये फरार २६ जनालाई गिरफ्तार गरी ८४ लाख ९७ हजार नौसय ८४ रुपियाँ जरीवाना तथा २७ वर्ष ९ महिना २३ दिन कैद भुक्तानिका लागि जिल्ला अदालतमा पेश गरेका छ ।

जिल्ला अदालतबाट जरिवाना असुल गर्नुका साथै कैद भुक्तानीका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । फरक–फरक मितिमा अदालतबाट फैसला भएको र फैसला कार्यान्वयन हुन नसकेको मुद्दाका फरारलाई प्रहरीले गिरफ्तार गरी कैद तथा जरिवाना भुक्तानीका लागि बुझाउने गरेको उहाँको भनाइ छ ।

त्यस्तैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा नौ हजार एकसय ५० सवारी साधनलाई कार्वाही गर्दा ६८ लाख ८८ हजार रुपियाँ जरीवाना रकम संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय म्याग्दीले मादक पदार्थ सेवनगरी सवारी चलाउने तीनसय ५८ जनालाई कार्वाही गर्दा तीन लाख ८८ हजार रुपियाँ जरिवाना रकम संकलन गरेको श्रेष्ठले जानकारी दिनुभयो । 

एक वर्ष अवधिमा २२ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए । म्याग्दीमा गत आर्थिक वर्षमा १७ वटा घरेलु हिंसाका घटनाका उजुरी परेकोमा सबै फछ्र्यौट भएको छ । ४८ जना मानिस हराएकोमा ३५ जना फेला परेको र १३ जना अझसम्म हराइ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । 

त्यस्तै, सात केजी १८ ग्राम गाँजा, चार केजी ४६ ग्राम चरेश, ट्रामाडोल नौ सय क्याप्सुललगायतका लागु औषध सहित ८ जना पक्राउ गरी सरकारी वकिल कार्यालय मार्फत ५ वटा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको नागरिक सुनुवाईमा प्रहरीले आफूले गरेको काम कार्वाहीको बारेमा जानकारी गराएको छ । नागरिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कांग्रेस उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, राप्रपाका अध्यक्ष बिरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी निरीक्षक सागर पौडेललगायतले बोल्नु भएको थियो ।