• १३ साउन २०८१, आइतबार

दीर्घ रोगी कैदीबन्दीद्वारा निःशुल्क औषधीको माग

blog

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुहुँदै । तस्बिर : रमेश पौडेल

रमेश पौडेल
पोखरा, साउन ५ गते । 
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँले कारागारमा पुगेर विभिन्न रोग लागि बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो ।

कारागारभित्र रहेका दीर्घ रोगी कैदीबन्दीहरुले निःशुल्क औषधीको माग गरेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, ‘‘दीर्घ रोगी कैदीबन्दीहरुले प्रेसर, सुगरलगायत नियमित खाइरहने औषधी निःशुल्क उपलब्ध गराउन माग गरेको हुनाले त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई निर्देशन गराइसकिएको छ ।’’

मन्त्री थापाले डेंगुलगायत अन्य विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुहुँदै उनीहरूलाई आवश्यक पर्ने औषधीलगायत पोसिलो आहारको उचित व्यवस्था गर्न निर्देशनसमेत दिनुभयो । उहाँले कारागारमा देखिएको खानेपानीलगायत अन्य समस्याका बारेमा समेत जानकारी लिनुभएको थियो ।

कारागारमा भएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्नुहुँदै उहाँले कास्की कारागार पहिलेभन्दा व्यवस्थित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कारागार पहिलेभन्दा व्यवस्थित हुँदै गएको छ । सरसफाइमा समेत ध्यान दिइएको पाएँ । कारागार भित्र हुने गरेको मूल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छु ।” कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।