वि.सं २०२८-२९ तिर मात्र हुम्लाको लिमी उपत्यका नेपाली भूभाग हो भन्ने नेसनल जोग्राफीले चिनायो । आज यो उपत्यका हिमालपारिको गाउँको नामले पनि चिनिन्छ । विगतमा यो ती गाउँको एउटा लिमी गाविस नामबाट अस्तित्वमा थियो, हाल नाम्खा गापा–६ वडाको हैसियतले चिनिन्छ ।
हुम्ला जिल्ला नेपालको सबैभन्दा उत्तर र भौगोलिक क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो पालिका (नाम्खा गाउँपालिका) रहेको जिल्ला हो । यहाँको पर्यटन विकास आन्तरिक रूपमा आफैँभित्र अथाहा प्राकृतिक र सांस्कृतिक पर्यटकीय भण्डार छ । बाह्य रूपमा कर्णाली नदी र चीनको पुरन काउटीस्थित कैलाश मानसरोवर अथाह सङ्ख्यामा विश्वका पर्यटक भ्रमण गर्ने गन्तव्यका कारण त्यसलाई उपयोगमा ल्याउन सके यहाँको सानो गुजारामुखी कृषि उत्पादन बिनापर्यटन व्यवसायबाटै आत्मनिर्भर रहन सक्ने क्षेत्र हो । जिल्ला सदरमुकाम, सिमीकोट, काठमाडौँ राजधानीसँग सडक सञ्जालमा जोडिन (खार्र्पुनाथ पुलबाहेक) पुगेको छ । सिमीकोट–हिल्सा (तिब्बती सिमा) दैनिक बस सञ्चालनमा आएको छ । त्यसै गरी अर्को तिब्बत जोडने सिमानाका लाचा पनि मोटरबाटोकै कारण सुगम छ । यहाँ सिमीकोटबाट ५/६ घण्टामा जिपद्वारा सहजै पुग्न सकिन्छ । अब कर्णाली करिडोर (सुर्खेत–जितेगढ–कवाडी–सलीसल्ला–सिमकोट र उत्तरी दुई चिनियाँ नाका– हिल्सा र लाप्चा यातायात सञ्चालनमा छन् ।
हुम्ला जिल्लाको सदरमुकाम, सिमिकोटबाट चीन सिमा जोड्ने दुई मोटरबाटाहरू–सिमीकोट–हेप्का–केरमी–सल्लीखोला–यलबङ–मुचु–हिल्साचीनसँग व्यापार व्यवसाय सञ्चालनका लागि बढी महìव राख्छ भने अर्को हेप्का–घट्टेखोला–नवलथाङ–सलिमान–न्यालुपास (४९९५मि) तुब्लिङ (जडे)–लाप्चाला पास (४५५० मि) व्यापार गर्न र पर्यटन व्यवसाय प्रवर्धन गर्ने सम्भाव्यता रहेको छ । सिमकोट (२०१० मि) धारापुरी हुँदै डाँडाफाया– च्याथर–केरमी–सल्लीखोला–यलबङ–मुचु/तुमकोट (३१३०मि) कर्णाली नदीछेउ करिडोर हुँदै त्यसपछि यारी–नाराको लेक (४३३० मि) हुँदै हिल्सा (३६४० मि) पुग्न सकिन्छ । यो मोटरबाटो बस्ती–बस्ती र कर्णाली नदीको किनारा हुँदै नाराको लेक चढी हिल्सा झरिन्छ । त्यहाँ नेपाल तर्फ सुरक्षा पोष्ट, भन्सार जाँच र सानो बस्ती बजार छ । पारीपट्टी (जहर) चीनको चेक पोष्ट र २/३ घण्टाको दुरीमा ताकलाकोट (सीमा व्यापारी बजार) रहेको छ । त्यहाँ हुम्लाका (सीमादेखि ३०/४० किमि) भित्रका नेपाली आवतजावत गर्न पाउँछन् ।
हिल्सा सिमानजिकै ताकलाकोट ((खासा बजार झैँ) बजार रहेको र भू–उचाइ पनि ३६४० मि रहेकाले ६ महिनासम्म व्यापार व्यवसाय सञ्चालन गर्न सकिन्छ । हेप्का लिमी–लाप्चा नाका हिमाली शृङ्खला मुनिमुनि (४५५० मि) रहेकाले बढीमा पाँच महिना मात्रै सञ्चालन हुन सक्ने देखिन्छ । यो रुटमा हेप्कामाथिको लेकडिङ्गा र तुब्लिङ, लिमीमा मात्रै फाटफुट २/४ घरको उपस्थिति रहेको र प्रायः सबै ठाउँ अधिकांश महिना हिउँ जम्ने र चिसो रहने प्रतिकूल मौसम भूभाग रहेकाले पर्यटन व्यवसायभन्दा अन्य कारोबार कठिन देखिन्छ ।
सिमीकोट–लाप्चा मोटरबाटो पर्यटकीय दृष्टकोणबाट तल्लो (हेप्का हिल्सा) भन्दा हिमाली भू–भाग भएर यात्रा गर्नुपर्ने, बाटोमा भेटिने खुला चौर, ओसेपिलो खोल्सा खर्क राख्न अर्थात् (वर्षायाममा) पशुपालन गरी रहेको भेटिन्छ जुन अति रमणीय दृश्यावलोकन गर्न पाइन्छ । ठाउँठाउँमा घोडा, चौरी, भेडा, बाख्रा, च्याङग्रा चरी चरनमा रहेको खर्क जीवन शैली भेटिन्छ, जस्तैः लेकडिङ्गा, घट्टखालो, नवाङथाङ, सेलिमान, सुम्सा, तुब्लिङ, आदि । यो मोटरबाटोमा भेटिने जङ्गली जनावर मारमट (फेयउ) मुसा, बनघोडाको बथान, वनचौँरीको बथान, नाउरको बथान प्रत्यक्ष दैनिक साक्षात्कार गर्न पाइन्छ, मौकाले भने हिउँ चितुवा, ब्वाँसो, हिमाली पानी हाँस, तित्रा, डाँफे, बाज, गिद्धलगायत धेरै जङ्गली जनावर र चराचुरुङ्गी हेर्न पाइन्छ । केही पहाडी बाटोबाहेक अधिकांश खुला चौर समथर भूभागबाट यात्रा गर्न पाइन्छ । लाप्चा–ला नाका पुग्ने समयमा अपार समथल चौर, आँखाले आकलन गर्न गाह्रो चौर–खोल्सा भेटिन्छन् ।
लाप्चा सिमामा पुग्नेवित्तिकै नेपालतर्फ लाखौँ रुपियाँमा बनाइएको एउटा ४/५ मिटर लम्बाइ र दुई/तीन मिटरको चौडाइमा बनेको निलो जस्ताको घरटहरा भेटिन्छ । यही ठाउँबाट मौसम सफा रहेमा तिब्बततर्फ प्रस्टसँग कैलाशनाथ हिमाल र फेदमा लाम्लस्कार परेको मानसरोवार ताल अवलोकन गर्न पाइन्छ । अब यो तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश अवलोकन गरेर यो मनुष्यजुनीबाट मोक्ष प्राप्त हुने भए स्वर्ग पुगिन्छ होला ! त्यसैले हजाराैँ नेपाली र भारतीय चिनियाँ भिसा नलागेका पर्यटन तीर्थयात्री (पिल्ग्रिमेज) हरूले यहीबाटै कैलाशको दर्शन, पूजा गर्ने गरेका र भगवानलाई चढाएका ध्वजा पतका, पैसा, भाँडावर्तन, पुजा सामग्री त्यही सेड हाउस वरिपरि छरपस्ट भेटिन्छन् । त्यहाँ हालसम्म बास बस्ने, खानपान गर्ने कुनै पनि भट्टी नभेटिने हुँदा र तिब्बततर्फ पनि हालका लागि सिमाना औपचारिक रूपमा बन्द छ । विगतमा (कोरोना समयपूर्व) सिमावर्ती हुम्ली (३०/४० किमी वरिपरि (लिमी उपत्यकालगायत नाम्खा गापा) का बासिन्दालाई निर्बाध ओहोर दोहोर गर्ने सुविधा हुन्थ्यो, त्यो बन्द छ । आशा गरौँ, सिमानाका खोलिन्छ, दुई मित्रराष्ट्र सहकार्य गर्ने छन् र हुमला एवं कर्णाली प्रदेशलाई समृद्वि उन्मुख नेतृत्व गर्ने छन् ।
वि.सं २०२८/२९ तिर मात्र हुम्लाको लिमी उपत्यका नेपाली भूभाग हो भन्ने नेसनल जोग्राफीले चिनायो । आज यो उपत्यका हिमालपारीको गाउँको नामले पनि चिनिन्छ । तर विगतमा यो ती गाउँको एउटा लिमी गाविस नामबाट अस्तित्वमा थियो हाल नाम्खा गापा–६ वडाको हैसियतले चिनिन्छ । आजभन्दा पाँच वर्ष पहिले यो कलमकारले भ्रमण गर्दा झाङ गाउँमा ५५/६० घरधुरी, तिलमा ३५/४० घरधुरी र हल्जीमा ९०/९५ घरधुरी भेटिएको थियो तर आज दुःखका साथ भन्नु पर्छ हाल्जी गाउँमा बाहेक अरू गाउँमा १० घरधुरीमा मुस्किलले ढोका खोलेको भेटिन्छ, झाङको गुम्बाको ढोकासमेत खोल्ने मान्छे (भिक्षुको) अभाव छ । जसरी यी गाउँ सम्भवत १९५० तिर धना बस्तीमा परिणत भएको थियो, त्यसै गरी बसाइँसराइको चपेटामा छन् ।
हुन त मोटरबाटोले हिल्सा र लिमी–लाप्चा–सिमकोट जोडिइसकेको छ । यहाँका बासिन्दा छिमेकी मुलुकको ताकलाकोट बजारमा रोजगारी गर्ने र अन्य मुलुकको यात्रामा गएका छन् । हाल्जी गुम्बा एघारौँ शताब्दीतिरको अस्तित्व बताइन्छ तर जे होस् यसको महìव यहाँका बासिन्दा रहुन्जेल रहला । धेरै पाश्चात्य मुलुकका अध्यायन अनुसन्धान (विद्यावारिधि) गर्ने आधा दर्जनभन्दा बढीले यसबारे पिएचडी डिग्री उपाधि प्राप्त गरी सकेका छन् । मेरो अनुसन्धानमा लिमी उपत्यकामा तिब्बत चीनको १९५० पूर्वको रीतिरिवाज र संस्कृतिको अवशेष (मस्ट एक्सोटिक कल्चरस) यहाँ अनुभव गर्न पाइन्छ । स्थानीय टाठाबाठाले खुलेयाम भन्ने पनि गर्छन्–यहाँ पश्चिमाको विशेष स्वार्थ थियो/छ त्यसैले आउने गर्छन् । यो ठाउँ–गाउँ जीवनमा एक पटक भ्रमण गर्न योग्य छ । बुझ्नेलाई धेरै ज्ञान प्राप्त हुन सक्छ । हाल्जी गाउँका १३/१४ घरमा भित्ता, दराज कोठाहरूमा सुनको मसीले आलङ्कारित थाङका पेन्टिङ भेटिन्छ । हाल्जी गुम्बाको महिमा वर्ण गरी साध्य छैन । स्थानीयवासीसँग रहेको संस्कृति, वेशभूषा, चाडपर्व, रीतिरिवाज बुझिनसक्नु भेटिन्छ । उनीहरूको वैदेशिक सम्बन्ध, आफ्नै स्वशासन (मुखिया प्रथा) प्रणालीले स्थानीय तहको सरकारसँग कम म्याच गर्दो हो ।
हुम्ला जिल्लाको धार्मिक, सांस्कृतिक र प्राकृतिक, साहसी पर्यटनको वर्णन वा चर्चा गर्दा बिर्सन नहुने पाटो (डाइमेन्सन) जडान र खसान संस्कृति र सभ्यता हो । उच्च हिमाली भूभागको गुम्बा र अर्ध फिरन्ते (सेमि नोम्याड अर्थव्यवसायमा आधारित जीवनशैली, साथै पाँच महिनाका लागि मात्रै जीवमैत्री गतिविधि रहन सक्ने इकोजोन र बाँकी केही तल्लो भूभाग–सिमकोट र त्यसभन्दा तल्लो वेल्ट खसान क्षेत्र जहाँ चार नाथको हिन्दु संस्कृति झल्कने र छ/सात महिनासम्म आर्थिक गतिविधि सञ्चालन हुन सक्छन् । हुन त यिनीहरूको आआफ्नै जीवनशैली र सांस्कृतिक रीतिरिवाज छन् तैपनि दुवै (जडान र खसान) सभ्यता र संस्कृतिबिच सुमधुर धार्मिक सहिष्णुता भएको, व्यवहार र चरित्र भेटिन्छ । खसानमा बढी भ्रम, अन्धविश्वास जस्तैः बहुपत्नी प्रथा धामी झाँक्री, छाउपडी प्रथा र बढी रूढीवादी भेटिन्छन् । त्यसै गरी जडानमा पनि, बहुपति प्रथा, बुद्ध धर्मका अन्ध भक्त, मेडिटेसनका नामले गुफा पहरामा विपश्यना गर्नेलगायत प्रचलन अझै पनि अवशेषको रूपमा झाँङ, एलवङ र रलिङ, गुफा/गुम्बा र लामा (निम्बा) बस्तीमा भेटिन्छन् । हिजो आज यो प्रथामा क्रमशः भ्रम निवारण हुँदै छ र ती प्रथा लोपोन्मुख अवस्थामा भेटिन्छन् । यसमा पनि केही वैज्ञानिकता अवश्य छन् होला । बहुपति प्रथा, धाँमी झाँक्री प्रथा, दलित, उच्च निज जाति प्रथा, गुफावसी विपश्यना गर्ने चलनबारे छुट्टै अध्ययन अनुसन्धानबाट भ्रम र सत्य तथ्य नङ्ग्याउनु आवश्यक छ ।
जडान र खसानको सभ्यता, संस्कृति, रीतिरिवाज, आस्था विश्वासबारे दुवैथरिको एउटै गन्तव्य मनसाय भेटिन्छ तर स्थान फरक फरक ठाउँ र नाउँ पनि फरक हुन सक्छ । जस्तैः चार नाथ (चन्दननाथ, छायाँ नाथ, खार्पुनाथ, खर्जेनाथ) र हुम्ला जिल्लास्थित प्रायः जुनसुकै गुम्बा जस्तैः रलिङ, एल्वङ, हाल्जी गुम्बामा निर्बाध दुवै समुदाय र सभ्यताका मानिसको भ्रमण पूजाआजा चल्ने र त्यस क्षेत्रकै मात्र नभएर चीनको स्वशासित क्षेत्रको कैलाशनाथ आस्थाको केन्द्र मानिन्छ । नाथको अर्थ भगवान् शिव, हुन त बुद्ध धर्म, जैन, शिख धर्म पनि सनातन हिन्दु धर्मकै शाखा वा उपमा लिने गरिन्छ । त्यसैले यहाँ धर्म र संस्कृतिको आधारबाट मनाउने चलन फरक–फरक होला तर स्थानीयबासीमा धर्म र संस्कृतिमा भेदभाव छैन, व्यवहार र आचरण मिल्दोजुल्दो छ ।
हुम्लामा भेटिने तातोपानी कुण्ड–केरमी, तुब्लिङ (जड), डाँडाकाँडा र हिमाल आरोहण गर्ने पैदल यात्रीका लागि–सैपाल हिमाल, चाङ्गलालगायत ४० हिमाल चढ्नयोग्य छन् । ¥याफ्टिङ, हनी हन्टिङ, पदयात्रा, सिमकोट–मानसरोवर कैलाश यात्रा, खार्पुनाथ च्याँखोला–तिब्बत पैदल यात्रा, सिमकोट–रलिङगुम्बा दुई दिने पैदलयात्रा आदि थुप्रै गन्तव्य र स्थान विशेष गन्तव्य छन् । हुम्ला जिल्लाको उत्तरी सीमा हिल्सादेखि दक्षिणी बाजुराको कवाडी खोलासम्मको प्राकृतिक र सांस्कृतिक सम्पदा र कर्णाली नदी छेउछाउको सभ्यता र यसका शाखा नदीबारे १० प्रतिशतभन्दा बाहिर प्रचार प्रसारमा आएकै छैनन् । त्यसैले हुम्लाको पर्यटकीय सम्भाव्यता अथाहा छ, उजागर हुन, अध्यायान अनुसन्धान गर्न धेरै बाँकी छन् । यहाँको रहस्य र अपार पर्यटकीय भण्डारलाई बाहिरी संसारमा ल्याई प्रचार प्रसार गरौँ । कर्णालीको विकासको रूपान्तरण थोरै लगानी र सिपबाट यहाँको पर्यटन व्यवसायलाई छिमेकी राष्ट्रको मानसरोवार कैलाशसँग जोड्ने प्रयास गरौँ । जीवनमा तिब्बतको कैलाश मानसरोवार भ्रमण नगरे पनि लाप्चा–ला नाका गएर टाढैबाट कैलाशनाथ मानसरोवर तालको दर्शन गरेर चार नाथको चक्रीय तीर्थ यात्रा सम्पन्न गरौँ, आफ्नो देश आफैँ चिनौँ । पहिले स्वदेश र पछि विदेश घुम्ने/चिन्ने बानी विकास गरौँ ।