• १२ साउन २०८१, शनिबार

हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

blog

सर्केगाड गाउँपालिका-७ मा रोपाइँ गर्दै किसानहरू । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, असार ३१ गते । हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो ।

चङ्खेली गाउँपालिका–२ का किसान जानकी शाहीले धेरै धान खेती हुने दार्म जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ९८ प्रतिशत रोपाइँ सकेको बताउँदै सिँचाइ सुविधा भएको कारण पानी नपरेको भएपनि सिँचाइ काम समयमै गर्न पाएको बताउनुभयो । उक्त जिल्लामा दुई हजार रोपनी भन्दा बढी जग्गामा धान खेती हुने गरेको छ । 

यता सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका किसान दानबहादुर फडेराले गाउँभरि ९५ प्रतिशत रोपाई कार्य सम्पन्न भएको बताउनुभयो । गत वर्ष साउन १२ गते गएको पहिरोले सिँचाइ कुलो भत्काएपनि त्यसलाई मर्मत गरिएको कारण सिँचाइ सुविधा भएको कारण चाँडै रोपाइँ भएको बताउनुभयो । 

ताँजाकोट गाउँपालिका–३ का किसान जगतबहादुर शाहीले गाउँपालिकाभरि ९३ प्रतिशत खेतमा रोपाइँ भएको बताउँदै हाल केही ठाउँमा रोपाइँ गर्न बाँकी रहेको बताउनुभयो । 

कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जिल्लाभर ९५ प्रतिशत जग्गामा धान रोपाइँ सकिएको र बाँकी जग्गामा पनि रोपाइँ भइरहेको बताउनुभयो । जब कि गत वर्ष यो अवधिमा ८७ प्रतिशत खेतमा सिँचाइ कार्य सम्पन्न भएको थियो । 

प्रमुख खड्काले जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको कारण समयमै रोपाइँ काम पुरा भएको बताउनुभयो । हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकामा हुने गर्छ ।