• १२ साउन २०८१, शनिबार

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

blog

काठमाडौँ, असार ३१  गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताउनुभयो ।

“विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ,” अध्यक्ष दाहालले भन्नुभयो । सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उहाँले बताउनुभयो ।

ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताउनुभयो । सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । खरिद ऐनले विकासमा बाधा पु¥याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताउनुभयो । ठमेलमा सक्षम, योग्य र दुरदर्शी नेतृत्व चुन्न उहाँले परिषद्का सदस्यहरुलाई आग्रह गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले ठमेललाई गुनासोरहित रुपमा सञ्चालन गर्न परिषद्ले काम गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा परिचत ठमेलभित्रको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक  कृष्णहरि शर्माले देशको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल आउने ८० प्रतिशत विदेशी पाहुना ठमेल आउने भएकाले यसको महत्व नेपालको पर्यटन क्षेत्रमा ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले वडा र स्थानीय सरकारसँगको सहकार्यमा ठमेललाई व्यवस्थित बनाउन वर्तमान कार्यसमितिले गरेको पहलप्रति धन्यवाद दिनुभयो । नेपाल सरकारले ठमेललाई प्राथमिकतामा दिन नसकेको उहाँको भनाइ थियो । पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद ९कमल० सापकोटाले ठमेल नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित भएकाले यसलाई व्यवस्थित बनाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डले नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा लाग्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र गर्न बाँकी रहेका कामलाई पूरा गर्न आगामी कार्यकालको अध्यक्ष लाग्ने विश्वास व्यक्त गर्नुभयो । डिजिटल ठमेल निर्माणलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्नका लागि परिषद्ले काम गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

परिषद्को आजै निर्वाचन पनि हुनेछ । कूल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदान गर्नेछन् । रासस