• १२ साउन २०८१, शनिबार

पुलमुनि रोड कटानले दुर्घटनाको जोखिम

blog

नदीले पुल नजिक कटान गरेको रोड।

अविनाश चौधरी

धनगढी, असार ३० गते। कैलालीको एक पुलमुनि रोड कटानले दुर्घटनाको जोखिम बढेको छ। 

कैलारी गाउँपालिका-४ र ६ जोड्ने घुरहा नदी पुलमा दुर्घटनाको जोखिम बढेको हो। पुलको पूर्वतर्फ रोड कटान भएपछि दुर्घटना हुनसक्ने सम्भावना रहेको छ। गएको आइतबार आएको बाढीले पुल किनारबाट रोड कटान गरेको थियो। 

रोड कटान भएपछि आवतजावतमै समस्या भएको छ। पैदलयात्री र साइकलबाहेक अन्य सवारी साधन ओहोदोहोरमा समस्या रहेको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो। 

“रोड भत्केको ठाउँमा धेरै अनुभवीले मात्रै मोटरसाइकल वारपार गराउन सकेका छन्”, उहाँले भन्नुभयो,“तैपनि जोखिम छ।”

गतवर्ष पनि सोही स्थानमा नदीले सडक कटान गरेको थियो। टालटुल गरेर काम चलाउ बाटो तयार पारिएको थियो। गतवर्ष भएको कटान भएपछि बनाउनका लागि प्रदेश र सङ्घीय सरकार समक्ष गुहार मागे पनि सुनाइ नभएको कलेलको भनाइ छ। उहाँले भन्नुभयो,“सुदूरपश्चिमका मुख्यमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री र उद्योग, पर्यटन तथा वनमन्त्रीसमेतले त्यसको निरीक्षण गर्नु भएको थियो। तर, बाटो भत्केको ठाउँमा निर्माणका लागि सहयोग भएन।” 

बाटो जोगाउनका लागि पुल आसपास नदीमा ४० मिटर ग्याबिन जाली लगाउनु पर्ने र २५ मिटर माथिसम्म माटो पटान गर्नुपर्ने गाउँपालिका कार्यालयको ठहर छ। सो कार्यमा एक करोडभन्दा बढी नै लागत खर्च लाग्न सक्ने जनाइएको छ। भत्केको सडक बनाउनका लागि ठुलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिकाको कार्यालयबाट त्यो कार्य सम्भव नरहेको बताइएको छ। “हाम्रो गाउँपालिकामा त्यति धेरै लगानी गर्न सकिने स्रोत छैन”, कलेल भन्नुभयो। 

१२५ मिटर लम्बाइ रहेको सो पुललाई लुम्बिनी–राजेन्द्र जेभीले निर्माण गरेको थियो। २०६८ सालबाट पुल निर्माणको काम सुरु गरिएको थियो। पुल बनाउने बेला निर्माण कम्पनीले सुरक्षाका लागि नदीमा ग्याबिन जालीको प्रयोग नगरेकाले नदीले माटो बगाएर कटान गर्दै आएको जनाइएको छ। पछिल्लो समय नदीले पूर्वतिर बढी कटान गरिरहेकाले रोड र पुल छुट्टिने सम्भावना रहेको जनाइएको छ। बेलैमा कटान नियन्त्रणको कार्य नभएमा रोड पर र पुल नदीकोबिचमा पर्न सक्ने खतरा रहेको बताइएको छ।