• १३ साउन २०८१, आइतबार

बागमती किनारमा वृक्षरोपण

blog

वृक्षारोपण । फाइल तस्बिर

काठमाडौँ, असार ३० गते । कोटेश्वर-तीनकुने क्षेत्रको बागमती किनारमा वृक्षारोपण गरिएको छ । म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा बागमती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज रोपिएको हो । 

अभियानकर्मी किशोरसिंह शाहीका अनुसार बागमती सफाइका अभियानकर्मीद्वारा पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपात गरी ५० भन्दाबढी पाँच फिट अग्ला बिरुवा वृक्षारोपण गरिएको हो । वर्षामा आउने बाढीले बागमतीमा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ । 

सफाइमा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तन्डुकार, नदी संरक्षण समितिका अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौँ महानगरपालिका, वातावरण विभागको गाडीले व्यवस्थापन गरेको छ । 

वि.सं.२०७० जेठ ५ गतेदेखि सुरु बागमती सफाइ अभियान अझै जारी छ । बागमती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान सुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ सुरु भएको छ । 

हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को हप्ता बागमती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल बागमती  पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारीसमेत दिइएको छ । रासस