• १३ साउन २०८१, आइतबार

गैँडाकोटमा भेटिएको दुई शवको पहिचान

blog

वसन्त पराजुली
भरतपुर, असार ३० गते । 
नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ ।

यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा पर्नुभएको हो ।

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको थियो ।

यद्यपि, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उहाँहरू चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गर्नुभएको बताइन्छ ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुस्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

आइतबार तेस्रो दिन पनि बिहानैदेखि उद्धारकर्मी हराइरहेको बस र यात्रुको खोजीमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली बिहानैबाट त्रिशूली नदीमा खोज कार्यमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा  तीन जना यात्रुको शव भेट्नु बाहेक अन्य ठोस कार्य हुन नसकेको बताउनुभयो ।

“सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । तर पनि दुर्घटनामा परेका दुवै बस भेटिएका छैनन्”, उहाँले भन्नुभयो । अत्याधुनिक उपकरणहरूसहित गोताखोरहरूको समेत खोज कार्यमा संलग्नता रहेको छ ।

केन्द्रीय सुरक्षा समिति घटनास्थल आउँदै

गृह मन्त्रालयका सचिव एक नारायण अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले आइतबार उद्धार तथा खोज कार्यको अनुगमन गर्नुहुने भएको छ ।


उद्धार तथा खोज कार्यलाई थप तीव्रता र प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले अनुगमन गर्न लाग्नुभएको हो । गृह सचिवसहित प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका पदाधिकारीहरू चितवन आउँदै हुनुहुन्छ । उहाँहरू घटना स्थल पुगेर उद्धार र खोज कार्यको अनुगमन गर्नुहुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँले हराइरहेका दुवै बसमा गरी कम्तीमा ६४/६५ जना यात्रु रहेको सूचना आफूहरूलाई रहेको बताउनुहुँदै धमिलो पानी र पानीको बहाव बढी हुँदा उद्धारमा समस्या परेको बताउनुभयो । 

“विदेशबाट नयाँ नयाँ प्रविधि र दक्ष गोताखोर ल्याउनेकुरामा समस्या छैन । तर काम गर्न धमिलो पानी र पानीको बहावले समस्या भइरहेको हो”, उहाँले भन्नुभयो । उहाँले खोज कार्य प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएको पनि बताउनुभयो ।

दुर्घटनाग्रस्त बसका यात्रुहरूको शव ५० किलो मिटरसम्म टाढा भेटिएको घटनाले केही शवहरू बगाएको हुन सक्ने आशङ्का उहाँले गर्नुभयो । बेपत्ता भएका बस भने घटना स्थलभन्दा धेरै टाढा नरहेको उहाँको बुझाइ छ । बस फेला परे बसमा चेपिएका र भित्र रहेका यात्रुहरूको मृत शरीर निकाल्न सकिने उहाँले जनाउनुभयो ।