• १२ साउन २०८१, शनिबार

सिमलताल बस दुर्घटना : चुम्बकको प्रयोग गरी बसको खोजी गरिँदै

blog

शालिग्राम नेपाल
चितवन, असार ३० गते ।
पहिरोले त्रिशूली नदीमा खसालेको बसलाई तीन दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि चुम्बकको प्रयोग गरिने भएको छ ।

अन्य प्रयासबाट खोजी कार्यबाट पत्ता नलागेपछि चुम्बक (म्याग्नेट) को प्रयोग गरिने जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गरी जानकारी दिएको छ । अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनुभयो ।

शनिबार बिहान ८ बजेबाट खोजी गरिएको थियो भने आइतबार बिहान ७ बजेबाट त्रिशूली नदीमा खोजी कार्य गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । खोजी कार्यमा नेपाली सेनाको उद्धार टोली, सशस्त्र प्रहरी रहेका छन् ।

घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी  भुसालले बताउनु भयो ।

बेपत्ता बसको खोजी कार्यमा प्रभावकारिता नदेखाएको भन्दै नदीमा हराइरहेका आफन्तले ‘‘दबाब दिन थालेपछि प्रशासनले थप प्रयास गरेको छ । नेपालमा उपलब्ध सबै उपाय लगाएर खोजी गरेका छौं ।,’’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो । बङ्गलादेशबाट गोताखोर ल्याउने प्रयास गरेको उहाँको भनाइ छ ।

त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासहरुलाई जारी राखेको जनाएको छ ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सात भारतीय नागरिकसहित २४ जना र काठमाडौँबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बिच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।यी बस पहिरोले बगाउने क्रममा तीन जना यात्रु भागेर बाँच्न सफल भएका थिए भने अन्य यात्रु नदीमा बेपत्ता भएका छन् ।

बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साह रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका– ७ स्थित नारायणी किनारमा दुई जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवको पहिचान भने खुलेको छैन ।