• १२ साउन २०८१, शनिबार

प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या

blog

बैतडी, असार २९ गते । बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा गरी चार वटा केन्द्र बन्द गरेपछि समस्या भएको हो ।

स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका केन्द्र बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् । स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद भएको स्थानीय कलावती चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै सुविधासम्पन्न प्रसूति सेवा विस्तार गर्नुपर्ने हो तर भएकै सेवा पनि बन्द गराउनु दुःखको कुरा हो । यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने प्रष्ट हुन्छ ।”

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताउनुभयो । सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उहाँले भन्नुभयो । “गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ । अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती केन्द्र बन्द गर्न भनिएको हो”, अध्यक्ष चन्दले भन्नुभयो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले पनि बजेट अभावका कारण ती केन्द्र बन्द गरिएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा केन्द्रमा दुई अनमी र एक सहयोगी राख्नुपर्ने भएकाले बजेट अभाव हुँदा समस्या भयो । त्यसैमा स्वास्थ्यतर्फको बजेट ३३ लाखबाट घटाएर २० लाखमात्र विनियोजन गरिएकाले ती केन्द्र बन्द गर्न बाध्य भएका हौँ ।”

यहाँ छवटा स्वास्थ्यचौकीबाहेक थप चार स्थानबाट प्रसूति सेवा प्रदान हुँदै आएको थियो । गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले अब गर्भवती महिलालाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याएर प्रसूति सेवा दिइने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो । रासस