पत्रकारिता तथा सञ्चारकर्मीका रूपमा आफ्नो परिचय बनाएका भक्त स्याङतानले कथामार्फत साहित्यिक पुस्तक प्रकाशनको द्वार खोल्नुभएको छ । हुन त साहित्यमा उहाँको परिचय नयाँ होइन, दुई दशकदेखि निरन्तर फुटकर रचनामार्फत नेपाली साहित्यमा उपस्थित हुनुहुन्छ । शब्दहरू तौलेर विषयवस्तुलाई गम्भीर तथा सूक्ष्म रूपमा प्रस्तुत गर्ने भक्तको लेखन शैलीले पहिलो कृतिमै नेपाली कथामा वजनदार उपस्थिति देखिन्छ ।
सिन्धुलीको महाभारत लेकको कञ्चन पानीमा स्पर्श लिएका भक्त नेपाली साहित्यमा पनि कञ्चन पानी जस्तै सिर्जना प्रस्तुत गर्नुहुँदो रहेछ । ‘डम्फुको आत्मालाप’ कथासङ्ग्रह पढिसकेपछि सबैलाई यही महसुस हुन्छ । कथाको बुनोट, पात्र र परिवेशलाई जीवन्त बनाएर प्रस्तुत भएका उहाँका कथाले कथा होइन; मान्छेका जीवन पढेको अनुभूति हुन्छ । अर्को कुरा, कथा पढेको होइन; फिल्म हेरिरहेको अनुभूति पनि हुन्छ । कथाका पात्रसँगै आफू दौडिरहेको अनुभूति ‘डम्फुको आत्मालाप’ भित्रका कथाले दिन्छ ।
कथाका भौगोलिक परिवेश तथा मौलिकताले वर्तमान युगचेतनाका संवाहकका कुरा बोलेका छन् । पहिचानका पक्षमा उभिएका छन् । हुन त हामीलाई आफ्नो पहिचान कसरी जोगाउने भन्ने चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ । हामी र हाम्रो संस्कृति, सभ्यतालाई पहिचान गर्न ढिला भइसकेको छ । युवा पुस्तालाई सुम्पने धेरै संस्कृति, सभ्यता तथा मौलिक पहिचान अब कसले जोगाउला भन्ने चिन्ता लाग्नु स्वाभाविक हो । यसकारण पनि यी पक्षलाई साहित्यका माध्यमबाट जागरुक गराउनु आवश्यक भइसकेको छ । यसै मेसोमा भक्त स्याङतानका यी कथा समयसापेक्षसँगै तामाङ सभ्यताका पक्षमा उभिएका छन् । तत्कालीन राज्य सञ्चालक राणा शासकको ज्यादतीको पराकाष्ठाका आदिम स्वर पनि कथामा आएका छन् । सिन्धुलीबाट याम्बु (काठमाडाँै) तथा विदेशी भूमिमा पसिना बगाउन पुगेका आलेहरूको कथा पनि यहाँ पढ्न सकिन्छ । एउटा पिछडिएको तामाङ जाति र उनीहरूको पीडाका कथा ‘डम्फुको आत्मालाप’ भित्र प्रस्तुत भएका छन् ।
कष्टपूर्ण जीवनको चित्रण, सामाजिक, सांस्कृतिक, नैतिक मूल्यको अवमूल्यनप्रतिको व्रmोध, सामाजिक–प्रशासनिक व्यवस्थाप्रति व्यङ्ग्य, तिक्ततापूर्ण वर्तमान जीवनको अभिव्यक्ति उहाँका कथामा भेटिन्छन् । त्यसका साथै तामाङ संस्कृति, सम्पदा तथा संस्कृतिकजन्य सामग्रीको पहिचान कथामार्फत प्रस्तुत भएका छन् । तामाङ सभ्यतामा जन्मदेखि मृत्युसम्ममा प्रयोग हुने डम्फुकोे महŒवबारे शीर्षक कथा ‘डम्फुको आत्मालाप’ मार्फत प्रस्तुत भएको छ । मान्छेका जनजीवनका संस्कार, रहनसहन, आचरण, व्यवहार आदिको खोजमूलक प्रस्तुुति यसमा भेटिन्छन् । राम्रो मूल्यमा कसैलाई बेचिसकेको डम्फु फिर्ता पाउँदाको बाको खुसी तथा आफ्ना अमूल्य सम्पदालाई सन्ततिले रक्षा गर्नु पर्छ भन्ने महŒवपूर्ण सन्देश कथाले बोकेको छ ।
उहाँका कथाका शीर्षकहरू पनि फरक धारका छन् । ‘लुङ्दर’, ‘छ्योर्तेन’, ‘न्होरला’, ‘छेदिङमो’, ‘जलजला’, ‘म्लाङगैको आपा’,
‘पेम्बाको कथा’, ‘दलुचा’, ‘डम्फुको आत्मालाप’, ‘याम्बुमा लाक्पाको सङ्घर्ष’ र ‘बुट्टे गलबन्दी’ शीर्षकका कथाले तामाङ शब्दहरूलाई आमजनमानसमा परिचित गराएका छन् । उहाँले अन्य समुदायमा पनि तामाङ भाषा र संस्कृतिका बारेमा कथामार्फत जानकारी पस्कनुभएको छ ।
जसले जस्तो कर्म गर्छ, त्यस्तै फल प्राप्त गर्छ भन्ने कुरा उहाँका कथामा आएका छन् । दुई जना मिल्ने साथीको कथामा एउटालाई गलत बाटोमा हिडाउँछ र अर्कोलाई सही मार्गमा हिडाउँछ । कथाका ती पात्र जस्तै हामीले यथार्थ पात्र कति देखिरहेका छौँ । त्यसैले पनि कथाकारले जे छ त्यो सत्यताका आधारमा कैयौँ यस्ता पात्रलाई कथामा उभ्याउनुभएको छ, जो पढ्दा हामी पात्रसँग साक्षात्कार गरिरहेका छौँ जस्तो लाग्छ ।
आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने चाहना सबैको हुन्छ । ऋण गरेर सहरमा पढ्न पठाएको छोरा गलत सङ्गतले आफ्ना आमाबाबुको दुःख देख्दैन, अरूको अगाडि देखाउनकै लागि बाइक किन्ने चाहना बढ्छ । बाबुलाई विदेश जानका लागि पैसा चाहियो भन्छ । घरजग्गा धितो राखेर बाबुले छोराको चाहना पूरा गर्छ तर छोरा विदेश जानुको साटो बाइक किनेर केटी घुमाउन थाल्छ । उता बुबालाई ऋणले पोल्छ । साहुले ताकिता गर्छ । यता छोरो
बेखबर छ । बुवाआमालाई साहुले घरबाट निकाल्छ । उनीहरू सहरमा आएर मजदुरी गर्न बाध्य हुन्छन् । त्यही सहरमा छोरा पनि छ । बाबु पनि छ तर उनीहरू एकअर्काप्रति बेखबर छन् । एकदिन तीव्र गतिमा आएको बाइकले एउटा मजदुरलाई हान्छ । मान्छेहरू जम्मा हुन्छन् । केही पर ढलेको बाइक अरूले उठाउँछन् । बाइकवालाले आफूले हानेको मान्छेलाई हेर्छ । त्यो मान्छे आफ्नै बाबु हुन्छ र कथाको अन्त्य हुन्छ । यो कथा पढिरहँदा हामी कुनै नाटक हलमा छौँ जस्तो लाग्छ । कुनै यथार्थ फिल्म हेरिरहेका छौँ जस्तो लाग्छ । भक्तले कथामार्फत समाजका सूक्ष्म तथा यथार्थलाई उजागर गरेका छन् । हाम्रो समाज विविध धर्म, समुदाय, रीतिरिवाजसँग रमाएको समाज हो । यहाँभित्र पनि धेरै विविधता छ । एकले अर्कालाई सम्मानका साथ हेर्ने परिपाटी छ । कुनै समयको कुरा बेग्लै थियो । त्यो बेलाको समयलाई हामीले भोग्न नपाए पनि इतिहास पढेर हामीले थाहा पाएका छौँ । अहिले कथामार्फत केही प्रसङ्ग भक्त स्याङतानले प्रस्तुत गर्नुभएको छ । त्यसैले पनि ‘डम्फुको आत्मालाप’ पठनीय पुस्तकका रूपमा रहेको छ ।
‘जलजला’ र ‘दलुचा’ तामाङ संस्कृतिभन्दा पृथक छन् । नेवारी संस्कृतिका बारेमा लेखिएको ‘दलुचा’ समसामयिक विषयमाथि लेखिएको मर्मस्पर्शी कथा हो । विदेशमोह अहिले फेसन जस्तै भएको छ । छोरा या छोरी, उनीहरूको उद्देश्य भनेकै विदेश जानु हो भन्ने बुझिन्छ । यता आमाबा उनीहरूको प्रतीक्षामा भगवान्को प्यारो बनिसक्छन् । सक्नेहरू ठुला देश जान्छन्, नसक्नेहरू खाडीको रापिलो घाममा आफ्ना सन्तानको भविष्य खोजिरहेका हुन्छन् । यी र यस्ता आमसमुदायका चासोका विषयलाई कथामार्फत भक्त स्याङतानले प्रस्तुत गर्नुभएको छ; जुन वर्तमान समयको यथार्थ चित्र हो । नेपाली कथा साहित्यमा ‘डम्फुको आत्मालाप’ ले एउटा नयाँ बाटोको पहिचान बनाएको पक्कै छ । हुन त पहिचानका विषयमा यो नयाँ कृति होइन तर तामाङ संस्कृति र सम्पदाको पहिचानमा भने यसको महŒव धेरै रहेको आभास हुन्छ । ‘डम्फुको आत्मालाप’ मा प्रायः सबै कथा वियोगान्त तथा अन्त्यमा केही अस्पष्ट भान भए पनि यिनले पाठकको दिमागलाई खुराक छाडेको आभास हुन्छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित यस कृतिले कथा साहित्यमा बेग्लै पहिचान बनाउने सामथ्र्य भने राख्छ ।